उठ द्रौपदी उठ
तिम्रो रक्षा गर्न यहाँ
कृष्ण आउनेवाला छैनन् अब
पहिला नि तिमी अबला मानिन्थ्यौ
आज नि तिमी अबला नै मानिन्छ्यौ
दुर्योधनहरूका नजरमा
न्यायको गुहार कोसँग माग्छ्यौ
यी दुशासनका दरबारहरूमा
उठ द्रौपदी...
हिजोको राजा धृतराष्ट्र अन्धो थियो
आज अन्धा गुँगा र बहिरा धृष्टराष्ट्रहरूको जमात छ
कोसँग रक्षाको भिख माग्छ्यौ?
रावणले त सुनको हरिण देखाएर 
सन्तको छद्म भेष बनाएर हरेको थियो सीतालाई
आज जताततै रावण नै रावण
न सुनको हरिण
न सन्तको रूप
हाकाहाकी दिन दहाड़े 
हरण भइरहेका छन् सीताहरू
बलात्कृत हुँदैछन् किशोरीहरू
अब कसैको मुख ताक्ने समय छैन
कतै गुहार माग्ने अर्थ रहेन
उठ द्रौपदी तिमी रणचण्डी बनेर उठ!
तिमी अबला छैन्यौ वास्तवमा
तिमीभित्र शक्तिको भण्डार छ
किन कि तिमी शक्ति स्वरूपिणी दुर्गा हौ
उठ अब अबोला बनेर बस्ने बेला छैन...

प्रकाशित मिति: : 2020-06-20 20:00:00

प्रतिकृया दिनुहोस्