इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको भएको खेलमा साविक विजेता युभेन्ट्सले जित हात पारेको छ।
बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले ०–२ गोलको जित हात पारेको हो।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे।
युभेन्ट्सले २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लियो। स्टेफानो देन्स्विलले डिबक्सभित्र म्याथिस डी लिग्टलाई तानेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को सहयोगले पेनाल्टी दिइयाे।
उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए।
???? to @SerieA action with a BANG! ????⚪️⚫️#BolognaJuve #FinoAllaFine #ForzaJuve pic.twitter.com/3rqBVqp552
— JuventusFC (@juventusfcen) June 22, 2020
खेलको ३६ औं मिनेटमा डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। उनले फेडेरिको बर्नाडेस्कीको ब्याक फ्लिकमा आएको पासलाई डिबक्स बाहिरबाट गोल गरे।
९० औं मिनेटमा रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिए। डग्लस कोस्टाले दिएको क्रसमा रोनाल्डोको प्रहार गोलमा परिणत भएपनि अफसाइड रहेको रेफ्रीको निर्णय थियो। खेलको इन्ज्युरी समयमा युभेन्ट्सका डिफेन्डर ड्यानीलो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए।
जितसँगै युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता लिएको छ। हाल युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने लाजियो एक खेल कम खेल्दै ६२ अंकसहित पछ्याइरहेको छ।
पराजित बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ।