महिला विश्‍वकप फुटबल-२०२३ अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

सन् २०२३ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिता अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना गरिने भएको छ। 

शुक्रबार बिहान स्विजरल्याण्डमा भएको मतदानमार्फत अस्ट्रेलिया र न्युजिल्यान्डलाई संयुक्त रुपमा प्रतियोगिता आयोजनाको अधिकार दिइएको हो।

अस्ट्रेलिया तथा न्युजिल्याण्डले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजनाका लागि दाबी प्रस्तुत गरेका थिए। निर्वाचनमा दुई देशले अर्काे दाबेदार देश कोलम्बियालाई ९ मतले पछाडि पार्दै प्रतियोगिता आयोजनाको अधिकार पाउन सफल भएका हुन्।

 ३७ सदस्य रहेको फिफाले आयोजना गरेको मतदानमा झरेको ३५ मतमा अस्ट्रेलिया र न्युजिल्याण्डको पक्षमा २२ मत परेको सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै कोलम्बियाको पक्षमा १३ मत आएको थियो। 

सन् २०२३ को जुलाई र अगस्टमा आयोजना गरिने प्रतियोगितामा विश्वभरिबाट ३२ टिमले सहभागिता जनाउँदैछन। यसअघि आयोजना गरिएको प्रतियोगितामा जम्मा २४ टिममात्र सहभागी भएकोमा यो संख्या बढाएर ३२ पुरयाइएको हो।

प्रतियोगिता आयोजना गर्न पाउने अधिकार पाउनेबित्तिकै यहाँस्थित चर्चित ओपेरा हाउस र न्युजिल्याडको स्काई टावरमा आफ्नो टिमको फोटोसहित खुसीयाली मनाइएको थियो। 

फिफाले नतिजा सुनाएसँगै प्रत्यक्ष प्रसारण हेरिरहेका अस्ट्रेलियाली फुटबलका अधिकारी तथा महिला खेलाडीले एकापसमा खुसीयाली बाँडेका थिए। 

गत वर्ष फ्रान्समा आयोजना गरिएको महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको थियो भने नेदरल्याण्ड्स उपविजेता बनेको थियो। 

प्रकाशित मिति: : 2020-06-26 13:18:04

प्रतिकृया दिनुहोस्