डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे । सँगै आएका अन्य ३५ जनासहित उनलाई स्थानीय झिमेमालिका माविको क्वारेन्टिनमा राखियो । सुरुमा उनलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो तर दिनगन्तिका हिसाबले उनी क्वारेन्टिनमा बसेको आज ३० दिन भयो ।
भारतको नयाँ दिल्लीबाट आएका के आई सिंह–४ का २२ वर्षीय मिलन कार्की पनि क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । सोही दिन भारतको पञ्जाबबाट आएका लोकबहादुर विक पनि सोही क्वारेन्टिनमा छन् ।
राम, मिलन र लोक मात्रै होइन, उक्त क्वारेन्टिनमा ३० दिनसम्म लगातार बस्नेको संख्या २७ छ ।
क्वारेन्टिनमा बसेको १६ औं दिन अर्थात् जेठ ३२ गते उनीहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरियो । आरडीटीको रिपोर्ट पोजेटिभ आएपछि भोलिपल्ट असार १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो । उक्त स्वाबको नतिजा अझै आएको छैन ।
स्वाव संकलन गर्दा उनीहरुलाई एक साताभित्रै रिपोर्ट आउने भनिएको थियो । आरडीटी पोजेटिभ देखिएका उनीहरुले कतै पीसीआर पनि पोजेटिभ पो आउने हो कि भन्ने चिन्तैचिन्तामा एक साता कटाए ।
‘चिन्ता लागिरहन्थ्यो, के पो भइहाल्छ भन्ने डर थियो,’ राम भन्छन्, ‘कति छिटो रिपोर्ट आउला भइरहेको थियो, छटपटिमै एक साता बितायौं ।’
एक सातापछि पनि रिपोर्ट नआएपछि उनीहरुले क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीहरुसँग प्रश्न गरे । स्वास्थ्यकर्मीहरुले ‘भोलिसम्म’ आइपुग्ने जानकारी दिए । त्यो दिन पनि चिन्तामै कट्यो उनीहरुको । उनी भन्छन्, ‘भोलि आउँछ, भोलि आउँछ भन्दाभन्दै १४ दिन भइसक्यो स्वाब संकलन गरेको रिपोर्ट अझै आएको छैन ।’