‘अझै केही समय यस्तै हुने हो भने भोकभोकै मरिन्छ’ (भिडियाेसहित)

विगतका दिनहरुमा निक्कै व्यस्त रहने २५ वर्षीय पदम धनुके आजकल फुर्सदमा छन्। पछिल्लो तीन वर्षदेखि हस्तकला गर्दै आएका पदम लकडाउनका कारण फुर्सदिला भएका हुन्।

उनी सादा भाडामा बुट्टा भर्ने काम गर्दै आएका थिए। चाइनामा लकडाउन लागेसंगै आफ्नो काम पनि रोकिएको उनले बताए। 'हामीले बुट्टा भर्ने भाडा सबै जाने भनेकै चाइना हो,' उनले बिएल नेपाली सेवासँग भने, 'चाइना नै बन्द भएपछि काम सबै रोकियो।'

आफूले गर्ने कामबाट सन्तुष्ट रहेका उनी विगत सम्झँदै भन्छन्, 'यस कामले सुखमय जीवन बिताउन सकेको थिएँ। लकडाउनले चौपट पारिदियो।' साथी दिपक खाती र राजकुमार दरालको लगानी रहेको उक्त काममा राम्रै आम्दानी हुने गरेको उनको भनाई छ। 'आफूले गरेको लगानी कटाएर महिनामा ३५ हजारसम्मको आम्दानी हुन्थ्यो,' उनले भने।

आफूले ५ हजार लागानी गर्दा पुग्ने बताउदैं पदमले सल्लोको धुप, ग्यास र सटर भाडामा मात्र आफ्नो खर्च हुने बताए। 'अहिले ५ महिना बितिसक्यो भाडा तिर्न पाएको छैन्। काम छैन् कसरी तिर्नु सटर भाडा?' उनले भने।

काम सुरू गरेदेखि पहिलो पटक समयमै भाडा तिर्न नसकेको उनले बताए।

उनले थुक्पा भाडा (चाइनिज नाम) तिप्लि र चुचे भाडामासमेत बुट्टा भर्न सिपालु छन्। उनले बुट्टा भरेर तयार पारेका भाडाको बिक्रि नेपालमा नहुने उनको भनाइ छ।

'थुक्पा भाडालाई किन्न नै हजारौं लाग्छ,' उनले भने, 'पानी पिउने भाडालाई नेपालीले त्यत्रो रकम कहाँ हाल्छ त।'

लकडाउनका कारण बेरोजगार बनेका उनलाई विगतका दिनमा अर्डर पुर्‍याउनै भ्याइनभ्याई हुन्थ्यो। 'अहिले नि अर्डर त आउँछ। तर पैसा पाइदैन। पैसा नआउने काम के गर्नू?' उनले दुखेसो पोखे।

आफू बेरोजगार भएको महिनौं बितिसकेको भन्दै उनले अझै केही समय यस्तै काम गर्न नपाइने हो भने भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्ने बताए।

भाइरसबाट बच्न उनीसँगै काम गर्ने दुई साथीहरु गाउँ गइसकेको उनले सुनाए। ७ महिनाको छोरी भएका कारण गाउँ जान नपाएका पदमले गाउँभन्दा आफूलाई यही सुरक्षित लागेको बताए।

'झन् गाउँमै बढी संक्रमित छन्। छोरी सानै छिन्। उसको बारेमा सोच्नु पर्‍यो नि,' उनले भने। आफ्नो सन्तान सानै भएका कारण कोरोनाबाट बच्नका निम्ति बढी सावधानी अपनाएको उनले सुनाए।

नेपालमा पछिल्लो समय तिब्र रूपमा बढेको कोरोना संक्रमितका कारण सरकारले लकडाउन थप कडाई गर्नुपर्ने उनको भनाइ छ। ‘जब लकडाउन खुकुलो हुनुपर्थ्यो तब कडा भयो। अहिले कडा गर्नुपर्ने बेला झन् खुकुलो गर्‍यो’,  उनले भने, 'सरकारले पहिले होइन, अहिलेको अवस्थामा राहत बाढ्नु पर्छ।'

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने अहिले थप समस्यामा परेको भन्दै उनले सरकारले मजदुरका लागि केही सोच्नुपर्ने बेला भएको बताए।

प्रकाशित मिति: : 2020-07-03 09:59:00

प्रतिकृया दिनुहोस्