बोटमै कुहिए आरु

रासस

सोलुखुम्बु

बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ। प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिए।

उनका अनुसार प्रविधिको अभावमा केन्द्रले उत्पादन गर्ने ती परिमाणका आरु वर्षेनी खेर जाने गरेको छ। 'करिब ७० बोटबाट उत्पादन हुने आरु प्रशोधन गर्ने उपयुक्त प्रविधि नहुँदा यत्तिकै खेर जाने गरेको छ' उनले भने, 'प्रविधि भित्र्याउन नसक्दा फाल्नुको विकल्प छैन।' आरुबाट जाम, वाइन र जुसलगायतका परिकार बनाउन सकिने भए पनि  केन्द्रमा हालसम्म उक्त प्रविधि भित्रिएको छैन।

कार्यालयका अनुसार मौसमअनुकूल भएमा बागबानी क्षेत्र भ्रमणमा आउनेहरुले नै केही मात्रमा खरिद गरेर लाने गर्छन्। तर यस वर्ष निरन्तर वर्षात् हुँदा अवलोकनकर्तासमेत कम आउने गरेको उनले बताए। 'मौसमका कारण अवलोकनकर्ता भ्रमणमा आएनन् र कोरोनाका कारण बजारसम्म पु¥याउन सकिएन।' उनले भने, 'टिप्ने सिजनमा वर्षात् हुँदा पनि यतिकै कुहिएर गयो।'

हिमाली जिल्ला सोलुखुम्बुमा बागबानीका साथै निजी जग्गामा समेत आरुखेती गर्ने गरिएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार कूल ४५ हेक्टर क्षेत्रफल आरुखेतीयोग्य जमिनमध्ये ३५ हेक्टर क्षेत्रफलमा हाल उत्पादन भइरहेको छ। कार्यालयका निमित्त प्रमुख कुलबहादुर राईका अनुसार कृषकले उत्पादन गरेको आरुले राम्रै बजार पाएको छ। कृषकले प्रति केजी रु ६० मा बिक्री गर्छन् भने केन्द्रमा प्रतिकेजी ३० मा बिक्री गर्ने गरिएको छ। यसरी हेर्दा यस वर्ष कोरोनाको कारण बागबानीमा मात्रै करिब ९० हजार बराबरको आरु खेर गएको छ।

यहाँको स्थानीय बजारबाहेक अन्य बजारसम्म पु¥याउन नसक्दासमेत आरुखेतीबाट मनग्य आम्दानी लिन नसकेको कृषकको भनाइ छ। कृषिमा आधुनिकीकरण गर्ने सरकारको नीति भए पनि गाउँ–गाउँमा उत्पादन हुने यस्ता प्रकारको खेती प्रणालीलाई समयानुसार परिणत गर्न नसक्दा समस्या भएको कृषक दोर्जी शेर्पाले बताए। 

फलफूल खेतीको सम्भावना राम्रो भए पनि सरकारले दिने अनुदान कनिका छरेझै हुँदा परिणाम देख्न नसकिएको थुलुङदूधकोशी–९ का कृषक सुर्ज तामाङले गुनासो गरे। उनले भने, 'अनुदानको नाममा रु २० हजार दिन्छ, अब प्रक्रिया मिलाएर लिन आउन र जानका लागि मात्रै रु १० हजार खर्च हुन्छ, अब केबाट काम गर्नु ?' बजेट निर्माण गर्दा के–कस्तो परिणाम आउँछ भन्ने पूर्वानुमान गरिनुपर्ने कृषकको भनाइ छ। 

प्रकाशित मिति: : 2020-07-04 13:15:02

प्रतिकृया दिनुहोस्