आफ्नै दलभित्रैबाट सताइएका प्रम ओलीलाई कांग्रेस र जसपाबाट यस्तो त्रास!

आफ्नै दलका विरोधी नेताहरुको दबाब झल्न नसकेर अनगिन्ती महत्वपूर्ण कार्यसूचि पाखा लगाउँदै बजेट अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समेत त्रास थपिएको छ।

सोही त्रासका कारण प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले आइतबार बिहानै आफ्ना विश्वासपात्र सुवासचन्द्र नेम्वाङलाई आफ्नो दूतको रुपमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पठाए।

सभापति देउवा निवासमा बिहान पूर्वप्रधानमन्त्री देउवालाई भेट्न पुगेका नेकपा संसदीय दलका उपनेता समेत रहेका नेता नेम्वाङले देशका विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विषयमा कुरा गर्न आएको बताएका थिए।

निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिको विषयमा कुरा गर्ने बहानमा पुगेको नेता नेम्वाङले मौकाको सदुपयोग गर्दै आफ्नो पार्टी भित्रको आन्तरिक कलहबाट उत्पन्न देशको राजनीतिक परिस्थितिबारे पनि कांग्रेसको धारणा बुझ्ने कोशिश गरेका थिए।

सभापति देउवासँग नेम्वाङले गरेको भेटवार्ताका क्रममा सहभागी कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले उक्त भेटवार्ताको विषयमा आइतबार अपरान्ह बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा र नेम्वाङबीच भएको कुराकानीबारे जानकारी दिएका थिए।

नेता रिजालले सभापति देउवासँग केही दिन अघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदमा नियुक्तिको विषयमा भएको छलफलबारे कुराकानी गर्दै के कसरी नियुक्तिको विषय टुंगो लगाउने भन्नेबारे प्रधानमन्त्रीको तर्फबाट कुरा गर्न आएको बताएको जानकारी दिएका थिए।

सोही क्रममा नेता नेम्वाङले आफ्नो पार्टीभित्रको आन्तरिक विवादपछि स्थगित भएको संंसद अधिवेशन बोलाउने विषयमा कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीचको आन्तरिक तयारीबारे के छ भनि सोधेको नेता रिजालले जानकारी दिएका थिए।

संविधानको प्रावधान अनुसार, संसदका २५ प्रतिशत अर्थात ६९ सदस्यले हस्ताक्षर गरी संसदको विशेष अधिवेशन बोलाए सभामुखले उक्त विषयमा छलफलका लागि बैठक बोलाउनु पर्ने प्रावधान अनुसार कतै कांग्रेस र जसपाले बहुचर्चित र विवादस्पद अमेरिकन सहयोग सम्झौता सम्बन्धी एमसीसी प्रस्ताव अनुमोनको लागि विशेष अधिवेशन बोलाउने सम्भावनाबारे कांग्रेसको धारणा बुझ्ने कोशिश गरेका थिए।

जवाफमा सभापति देउवाले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादमा कांग्रेसको कुनै चासो नरहेको बताउँदै एमसीसी प्रस्ताव सरकारको आफ्नो विजनेश भएको स्पष्ट पारेको नेता रिजालले केन्द्रीय समिति बैठकमा जानकारी दिएका थिए।

‘एमसीसी प्रस्ताव वा अन्य कुनै विषयमा सरकारको विषयमा संसदमा प्रस्ताव ल्याउने कुरा कांग्रेसको कुनै सरोकारको विषय होइन। यदि सरकारले चाहेर एमसीसी प्रस्ताव ल्याए आफ्नो दलले विचार गर्ने कुरा भएपनि यहि विषयलाई लिएर विशेष अधिवेशन बोलाउने पक्षमा आफू नरहको स्पष्ट सन्देश नेम्वाङलाई सभापति देउवाले दिए,’ नेता रिजालको भनाई उद्रित गर्दै एक नेताले भने।

साथै सभापति देउवाले केही दिन अघि प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा पनि संवैधानिक निकायमा नियुक्तिको विषयका अतिरिक्त एमसीसीको विषयमा सभामुख अग्निप्रसाद सापकोटा सकरात्मक नरहेको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक लगायतका सदस्यले प्रस्ताव राखे आफ्नो पक्षका कानून मन्त्री र सचेतक शान्ता चौधरी लगायतले समर्थन गर्ने जानकारी दिँदै उक्त विषय कार्यव्यवस्थामा उठाउन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीको प्रस्तावबारे सभापति देउवाले संसदमा कुन विषय छलफल र निर्णयका लागि अघि सार्ने भन्ने कुरा सत्तापक्ष र सरकारको भएको बताउँदै प्रतिपक्ष दलले विषयको गाम्भीर्यता हेरि समर्थन र विरोध गर्ने जानकारी दिएपनि हठातमा संसद अधिवेशन अन्त्य गर्ने विषयबारे आफूसँग प्रधानमन्त्री ओलीले कुनै परामर्श नगरेको भन्दै नेम्वाङसँग असन्तुष्टि व्यक्त गरेका थिए।

कांग्रेसको बैठकमा नेता रिजालले अहिले सत्तारुढ नेकपाभित्र भएको आन्तरिक विवाद उनीहरुकै दलभित्रको विषय भएकोले आफ्नो पार्टी उक्त विवादमा अल्झिने र पक्ष वा विपक्षमा उभिने भन्ने कुनै सम्भावना नरहेको जानकारी पनि दिएका थिए।

प्रकाशित मिति: : 2020-07-05 22:56:54

प्रतिकृया दिनुहोस्