प्रचण्ड–माधव खेमालाई दबाब दिन देउवासँग दोस्ती बढाउँदै प्रधानमन्त्री ओली

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेताहरु सरकार ढाल्न क्रियाशील भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने प्रमुख प्रतिपक्षी दल कांग्रेससँगको सम्बन्धलाई महत्व दिन थालेका छन् ।

आफूले प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट गरेको चौथो दिन संसदीय दलका उपनेता सुवास नेम्वाङलाई देउवानिवास, बुढानीलकण्ठ पठाएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग नेम्वाङकोे आइतबार बिहान भएको भेटवार्ताको उद्देश्य ‘संवैधानिक अंगका पदाधिकारी नियुक्तिका विषयमा अनौपचारिक कुराकानी’ गर्नु रहेको उनले सञ्चारकर्मीलाई बताएका छन् तर यसको अन्तर्य भने प्रचण्ड–माधव खेमामा आशंका सिर्जना गर्नु र देउवासँग सम्बन्ध सुमधुर बनाउनु रहेको बुझिएको छ ।   

कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने दिन बिहानै उपनेता नेम्वाङ देउवा निवास, बूढानीलकण्ठ पुगेका थिए । देउवासँगकोे नेम्वाङको भेटमा काँंग्रेस नेता मिनेन्द्र रिजाल पनि सहभागी थिए । उनैले देउवासँग समय मिलाइदिएको ब्रिफिङ आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले बताएका थिए । 

सरकारले सभामुख अग्नि सापकोटासँग समेत परामर्श नगरी संसद्को अधिवेशन आकस्मिक रुपमा अन्त्य गरेको कांग्रेसले विरोध जनाएको थियो । अधिवेशन अन्त्य रोक्ने प्रयासमा  दौडादौड गरी राष्ट्रपति कार्यालय पुगेर पनि रोक्न नसकेका नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अधिवेशन अन्त्यको विरोध गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेकपाभित्रैबाट राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘महाभियोग’ दर्ता गर्ने प्रयास गरेकाले आकस्मिक रुपमा अधिवेशन अन्त्य गरेको प्रधानमन्त्रीले शनिबार मन्त्रिमण्डलको विस्तारित बैठकमा बताइसकेका छन् । तर, कतै कांग्रेसले नेकपाभित्रको अन्तर्विरोधमा खेल्न एमसीसीबारे छलफल गर्ने बहाना बनाएर संसद् अधिवेशन बोलाउने त हैन भन्ने आशंका पनि बढेको छ । त्यसैले यसबारे बुझ्न पनि नेम्वाङ देउवा निवास गएका हुन् ।

विघटित संविधानसभा अध्यक्ष नेम्वाङ विपक्षी दलका नेता देउवासँग राम्रो सम्बन्ध भएका नेकपा नेता हुन् । देउवाले नेकपाभित्रको झगडाबारे पनि जिज्ञासा राखेका थिए ।  

देउवा–नेम्वाङ भेटमा करिब पौने १० बजे देउवा निवास पुगेका थिए । देउवानिवास जानुअघि नेम्वाङले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेका थिए । उपनेता नेम्वाङले कांग्रेसले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्न लागेको हो भनेर देउवासँग जिज्ञासा राखेको स्रोतको दाबी छ ।  

एमसीसी अनुमोदन गर्न भनी आह्वान गरिने बैठकमा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेसले विशेष अधिवेशन बोलाउने र त्यसमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गृहकार्य गरिएको हुनसक्ने आशंका बालुवाटारको रहेको छ । यो बुझ्ने मुख्य उद्देश्यसहित नेम्वाङ देउवा निवास पुगेको स्रोतको दाबी छ । 

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा भावि प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्छ । त्यसैले एमसीसीबारे छलफल गर्न भनेर विशेष अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नसक्ने सरकार पक्षको आशंका थियो ।

भेटवार्ताको सुरुमै देउवाले हतार–हतार संघीय संसद् अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका थिए । उनले असार १७ गतेको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा एमसीसीलाई एजेण्डामा राख्न माग गरौँ भन्ने तर भोलिपल्ट हतारहतार संसद् अधिवेशन अन्त्य गरेर आफूलाई ढाँटेको बताएका थिए  ।

देउवाले रिसाएर प्रधानमन्त्रीविरुद्ध तीतो पोख्दा उपनेता नेम्वाङलहाँसेर टारिदिएका थिए । नेम्वाङले भने संवैधानिक अंगहरुको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईसँग भेट्नू भनेकाले आएको बताएका थिए । जवाफमा देउवा अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेकोमा असन्तुष्टि राखेका थिए ।

भेटमा सहभागी कांग्रेस नेता मिनेन्द्र रिजालले  पार्टीको आन्तरिक विवादमा एउटा पक्षले अर्काे पक्षलाई दबाव दिन कांग्रेस आफूसँग नजिक भएको देखाउन भेटघाट बढेको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति: : 2020-07-05 22:59:35

प्रतिकृया दिनुहोस्