ओली प्रचण्ड छलफल सकियो, बालुवाटारबाट प्रचण्ड खुमलटार फर्किए

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ।

अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेदेखि शुरू भएका वार्ता झण्डै डेढ घण्टा चलेको थियो । 

पार्टीभित्र गतिरोध गहिँरिँदै जाँदा सोमबार दुई अध्यक्षबीच भएको वार्तामा पहिलोपटक विषयकेन्दित छलफल भएको स्रोतले जनाएको छ।

‘विषयमा बल्ल प्रवेश भएको छ, यसअघिका छलफलहरु विरोध र असन्तुष्टि पोखिने खालका थिए, आजको छलफल भने, विषयमा प्रवेश गरेको छ, कुनै सहमति भएको छैन।’

बालुवाटारमा छलफल सकेर प्रचण्ड खुमलटार निवास फर्किएका छन्।

आजको भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताएका थिए।

'हामी दुई जनामात्रै बस्न जरूरी छ। अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले भन्नुभएको छ। कार्यदल बन्यो भनेर हिजो बाहिर भ्रम परेको हुनाले अध्यक्ष संवेदनशील हुनुभएको छ,' प्रचण्डनिकट स्रोतले भन्यो,'प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भए पनि छलफल, छलफलजस्तो भएको छ।'

सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली प्रचण्डले छलफल गरेका हुन् ।

सअघि आइतवार पनि उनीहरूबीच लामो छलफल भएको थियो । 

अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ । शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए । 

ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गरी २०७६ मंसिरमा भएको निर्णयअनुसार त्यसलाई थप परिभाषित गरेर जाने प्रस्ताव राखेका थिए । 

दुवैले राखेका प्रस्तावमा एकअर्को पक्ष सहमत भइसकेको छैन ।

प्रकाशित मिति: : 2020-07-06 11:55:30

प्रतिकृया दिनुहोस्