चीनद्धारा अमेरिकालाई कडा चेतावनी– ‘हाम्रो सेना पहिलेभन्दा बढी शक्तिशाली’

साउथ चाइना सी मा अमेरिकाले आफ्नो गतिविधि तीब्र पारेको घटनालाई चीनले युद्वका लागि उस्काएको आरोप लगाएको छ। उसले अमेरिकाले तत्कालै सैन्य गतिविधि नरोकेमा यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। 

बिहीबार अमेरिकाको युद्धक विमान चीनको हवाई क्षेत्रबाट उडेको थियो। सरकारी मिडिया ग्लोबल टाइम्सले एउटा लेख प्रकासित गर्दै ट्रम्प प्रशासनलाई यो हर्कतका लागि सिधै चेतावनी दिएको छ र यसका लागि गम्भीर परिणाम भोग्नुपर्ने बताएको छ।  

साउथ चाइना सी मा अमेरिकाको दुई वटा एयरक्राफ्ट केरियरले युद्धभ्यास गरेका थिए। 

ग्लोबल टाइम्सले अहिलेको चिनियाँ सेना पहिलेको तुलनामा झन् बलियो भएको र अमेरिकालाई हरेक क्षेत्रबाट पराजित गर्न सक्षम रहेको बताएको छ। 

पत्रिकाका अनुसार युएस एयरफोर्सको सैन्य टोही विमान बुधबार चीनको गुआङडोङ प्रान्त नजिकै उडेको थियो। यस्तै, बुधबार अमेरिकी नौसेनाको इपी–३ई ग्वाङडोङको तटीय क्षेत्रस्थित ९० किलोमिटर वरिपरि देखिएको थियो। 

पत्रिकाले यस्ता सानातिना घटनाले यो क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने बताएको छ। ग्लोबल टाइम्सले अमेरिका यो क्षेत्रमा आफ्नो सेना पठाएर चीनलाई उकास्ने काममा लागेको बताएको छ। र, उसले चिनियाँ सेनाको गतिविधिलाई नियाल्न पनि अमेरिकाले यस्तो हर्कत गरिरहेको बताएको छ। 

‘अमेरिका ताइवान र दक्षिण चीन सागरको वरिपरि चिनियाँ सेनाको उपस्थितिलाई नजिकबाट नियाल्न पनि यस्तो गरिरहेको छ,’ ग्लोबल टाइम्सले लेखेको छ। 

चिनियाँ सरकारी मिडियाका अनुसार अमेरिकाले यस्तो गरेर चीनको हित र राष्ट्रिय सुरक्षालाई उल्लंघन गरेको छ। ‘यो क्षेत्रीय शान्ति र स्थिरताका लागि ठूलो खतरा हो। अमेरिकी सेनाको उस्काहटको जवाफमा चीनले आफ्नो लडाकु विमान हवाई क्षेत्रको सुरक्षामा उपस्थिति गराउन सक्छ। यस बाहेक चिनियाँ युद्धपोतले अमेरिकी नौसेनाको अभ्यासलाई निगरानी गर्न सक्छ,’ पत्रिकामा उल्लेख छ। 

१७–३१ अगस्टसम्म प्रशान्त महासागरमा हुन लागेको रिमप्याक नेवल अभ्यासलाई लिएर चीनले असन्तुष्टी जाहेर गरिसकेको छ। यसले अमेरिका र चीनबीच तनावलाई थप बढाउन सक्छ। यसलाई विश्वको सबैभन्दा ठूलो नेवल अभ्यास मानिएको छ। यसमा अमेरिका, जापान, अस्ट्रेलिया, ताइवान र भारतलगायत देशका नौसेनाले भाग लिदैछन्।

प्रकाशित मिति: : 2020-07-09 18:33:32

प्रतिकृया दिनुहोस्