अमेरिकाबाट विदेशी विद्यार्थी फर्काउने रणनीति, प्रभावित हुदैँ हजारौ नेपाली विद्यार्थी 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी राष्ट्रपति ट्रम्पको विदेशी विद्यार्थी फर्काउने पछिल्लो निर्णयबाट अमेरिकाका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत् हजारौ नेपाली विद्यार्थी पनि प्रभावित हुनेछन्। कोभिड महामारीका कारण अनलाइन कक्षा सञ्चालन गरिरहेका कलेज तथा विश्वविद्यालयले अर्को सेमेष्टर पनि अनलाइन कक्षा सञ्चालन गरे भने त्यस्ता कक्षामा विदेशी विद्यार्थीलाई सहभागी हुन नदिने र उनीहरूलाई देश निकाला गर्ने निर्णय गत जुलाइ ६ मा अमेरिकी सरकारको इमिग्रेसन एन्ड कस्टमस इनफोर्समेन्ट (आइस)ले सार्वजनिक गरिसकेको छ। 

आप्रवासीविरोधी छवि बनाएका राष्ट्रपति ट्रम्पको  विदेशी विद्यार्थीलाई उनीहरूकै देश फर्काउने मनशायअनुसार आएको यो निर्णयले अमेरिकामा विदेशी विद्यार्थीको संख्यामा ठूलो गिरावट आउँदा धेरै विश्वविद्यालय बन्द गराउनुपर्ने स्थिति आउन सक्ने चेतावनी दिइएको छ।

अहिले अमेरिकामा ११ लाख विदेशी विद्यार्थी अध्ययनरत रहेको र उनीहरूबाट वर्षेनी ४१ अर्व अमेरिकी डलर आम्दानी र चारलाख ६० हजार काम सिर्जना भैरहेको तथ्यांक छ।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या पनि हजारौ पुगेको छ।अमेरिकी सरकारको ब्यूरो अफ एजुकेसन एण्ड कल्चरल अफेयर्सका अनुसार नेपाल अमेरिकामा धेरै विद्यार्थी संख्या हुने २५ देशभित्र पर्छ भने अन्डरग्राजुयट विद्यार्थीको संख्यामा त नेपाल १०औं स्थानमा छ। अमेरिकी सरकारको यो निर्णय लागु भयो भने हजारौ नेपाली विद्यार्थी नेपाल फर्कनुपर्ने हुन्छ।  

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी भनिने विदेशी विद्यार्थीलाई शिक्षा प्रदान गर्ने एशोसियसन अफ इन्टरनेशनल एडुकेटर्सले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले अमेरिकाका विश्वविद्यालयमा औसतमा १५ प्रतिशत विदेशी विद्यार्थी छन्। रिपब्लिकन बुहल राता राज्यमा ९ प्रतिशत र डेमोक्रेटिक बहुल नीला राज्यमा औसतमा १९ प्रतिशत विदेशी विद्यार्थी रहेको जनाइएको छ। 

अमेरिकामा इन्टरनेशनल स्टुडेन्टले मात्र पूरा शुल्क तिर्ने भएकाले उनीहरू नै विश्वदिद्यालयका नियमित आम्दानीका प्रमुख स्रोत मानिन्छन्। 

यसैबीच ट्रम्प प्रशासनको यो निर्णयविरूद्ध विश्वविद्यालयहरू अदालतको ढोका ढकढकाउन थालेका छन्। यही साता हार्भर्ड विश्वविद्यालय र एमआईटीले बोस्टनको एक अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले राष्ट्रपति ट्रम्प, उनको प्रशासन, होमल्यान्ड सेक्युरिटी एबम् यस अन्तर्गतको इमिग्रेसन एन्ड कस्टमस इनफोर्समेन्ट आइसमाथि मुद्दा दर्ता गरेका हुन्।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या पनि हजारौ पुगेको छ।अमेरिकी सरकारको ब्यूरो अफ एजुकेसन एण्ड कल्चरल अफेयर्सका अनुसार नेपाल अमेरिकामा धेरै विद्यार्थी संख्या हुने २५ देशभित्र पर्छ भने अन्डरग्राजुयट विद्यार्थीको संख्यामा त नेपाल १०औं स्थानमा छ। अमेरिकी सरकारको यो निर्णय लागु भयो भने हजारौ नेपाली विद्यार्थी नेपाल फर्कनुपर्ने हुन्छ। 

प्रकाशित मिति: : 2020-07-12 03:54:30

प्रतिकृया दिनुहोस्