अमेरिकाको ४० राष्ट्रपतिलाई लुगा सप्लाई गरेको कम्पनी कोरोनाले टाट पल्टियो

अमेरिकाका ४० जना राष्ट्रपतिलाई लुगा सप्लाई गरेको ब्रुक्स ब्रदर्स कम्पनी कंगाल भएको छ।

अमेरिकको प्रायः सबै राष्ट्रपतिको लोकप्रिय मानिने तथा करीव २ सय वर्ष पुरानो यो कम्पनीले आफू टाट पल्टिएको भन्दै संरक्षणका लागि निवेदन दिएको छ। 

ब्रुक्स ब्रदर्सको स्थापना १८१८ मा न्युयोर्कमा भएको थियो। अमेरिकामा यो कम्पनीको पुरानो तथा सबृद्ध इतिहास छ। 

सन् १८६५ मा अब्राहम लिंकनको हत्या हुँदा उनले त्यही कम्पनीको कोट पहिरिएका थिए। ब्रुक्स ब्रदर्स कम्पनीको दुई बटन भएको सुट राष्ट्रपति जोन एफ केनेडीको लोकप्रिय सुटमध्ये थियो। 

दुई वटा विश्व युद्ध, महान आर्थिक मन्दी तथा राष्ट्रपति कार्यालयद्धारा ‘ड्रेस कोर्ट’ लाई फितलो बनाउने निर्णयका बाबजुद आफूलाई सफलतापूर्वक उभ्याएको यो कम्पनी कोरोनाको महामारीसँग जुध्न सकेन। 

कम्पनीले कंगाल भएको संरक्षणको धारा ११ अन्तर्गत निवेदन दिएको छ। कम्पनीले आफ्नो २ सय स्टोमध्ये २५ प्रतिशतभन्दा माथिको स्टोरलाई सधैको लागि बन्द गर्ने बताएको छ। कोराना भाइरसका कारण अमेरिकामा साना र मझौलास्तरका व्यापारीहरू निकै प्रभावित बनेका छन्। 

यसअघि बार्निज न्युयोर्कले पनि कंगाल भएको भन्दै संरक्षणका लागि आवेदन दर्ता गरेको थियो। जे क्रु, निमेन मार्कस, जे सी पेनीसमेत अमेरिकाको खुद्रा कम्पनी कोरोना महामारीबाट प्रभावित भइसकेका छन्। 

ब्रुक्स ब्रदर्सको कपडाको संस्कृतिमा गहिरो प्रभाव छ। क्लार्क गेबल यही कम्पनीको कपडा लगाउँथे। जेनिफर एनिस्टनले जतिबेला जिक्यु पत्रिकाको मुख्य पृष्ठमा रातो, सेतो र निलो रंगको टाई लगाएकी थिइन, त्यो ब्रुक्स ब्रदर्सकै थियो।

प्रकाशित मिति: : 2020-07-12 18:33:12

प्रतिकृया दिनुहोस्