जुम्लामा सहल नियन्त्रणकाे लागि तयारी सुरु

विश्वाव्यापी रुपमा खाद्य संकट निम्त्याउन सक्ने सलह किरा नेपाल प्रवेश गरेसँगै जुम्लामा पनि पुगेकाे छ। बालीमा नाेक्सान पुर्‍याउन थालेपछि किसानहरु थाल ठटाउन थालेका छन्।

जुम्ला प्रवेश गरेको सलह किराकाे झुण्डले बालीनाली नोक्सान गर्न थालेपछि कृषि विकास कार्यालय जुम्लामा सलह अपडेट सेन्टर स्थापना गरिने भएको छ। 

जिल्लाकाे कृषि तथा खाद्य सुरक्षा समितिले सलह किराले कृषि उत्पादनमा पार्न सक्ने प्रभावका विषयमा विज्ञसँग छलफल गर्दै उच्च सतर्कता अपनाउन लागि अपडेट सेन्टर बनाउन थालेकाे छ।

‘जुम्लामा सलह किरा  डोल्पा जिल्ला हुँदै प्रवेश गरेकाे छ,’ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘गुठिचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाको पुर्वी क्षेत्रमा सलहले बालीनालीमा क्षति पुगाएकाे छ। फेरी पुर्वोत्तर हावाको गति संगै सलह किरा पातारासी गाउँतिर फर्किएको छ।’

सलह किराबाट कृषि उत्पादनलाई सुरक्षित राखि खाद्य सुरक्षालाई सुनिश्चित गर्न पुर्व तयारी तथा प्रति कार्यका लागि कृषि विशेषज्ञ सेवा प्रदान गर्ने जिल्लाकाे कृषि तथा खाद्य सुरक्षा समितिले जनाएको छ। 

किसानको  चेतना अभिवृद्धि गर्न विषय विज्ञलाई परिचालन गरि सुचना सम्प्रेषण गरिनेछ भने किसानलाई जागरुक बनाउन कृषि विकास कार्यालयले तत्काल कार्ययोजना बनाउनेछ।  

कार्यालयले विशेषज्ञ सेवा प्रदान गर्ने, स्थानीय तहबाट सुचना प्राप्त गर्ने  र सोको दैनिक प्रतिवेदन तयार गरि जिल्ला विपद व्यवस्थापन समिति र सरोकारवाला बीच आदानप्रदान गर्ने तयारी रहेकाे कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक बालकराम देवकोटाले जानकारी दिए।

‘सलह किराले कृषि उत्पादनमा हुन सक्ने जोखिम कम गर्न जनचेतनालाई प्रभावकारी बनाइनेछ,’ उनले भने, ‘सलहको नियन्त्रण तथा रोकथामका लागि स्थानीय विज्ञसँगको सुझाव संकलन गर्ने तथा  विशेषज्ञताका आधारमा जिल्लालाई सुहाउँदो विधि, पद्धती र प्रक्रियाका बारेमा प्रचार सामग्री तय गर्ने तयारी गर्दैछाैं।’

सलह किराको प्रकोप बढ्न थालेपछि स्थानीय तहले पनि आ-आफ्नो विधि अवलम्बन गर्न थालेका छन्। पातारासी गाउँपालिकाले सलह किरा मारेर ल्याउने किसानलाई प्रतिकेजी दुई सय रुपैयाँ दिने भएको छ। 

थाल बजाउने, धुलो, धुवाको प्रयोग गरि सलह किरा भगाउन किसानलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत टेक बुढ्थापाले जानकारी दिए। ‘पातारासीको माथिल्लो क्षेत्रमा देखिएको छ। किसानलाई माइकिङ गरेर सचेत गरिरहेका छौं,’ उनले भने। 

जिल्ला प्रशासन कार्यालय जुम्लाले सलह किरा नियन्त्रणकाे लागि सबैलाई आ-आफ्नो क्षेत्रमा खटिन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-07-13 13:19:40

प्रतिकृया दिनुहोस्