आइपीएलका सीइओलाई भारतीय क्रिकेटको अन्तरिम जिम्मेवारी

एजेन्सी

मुम्बई

गत साता पदबाट हटाइएका भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का पूर्व सिइओ राहुल जौहरीको स्थानमा अन्तरिम कालका लागि आइपीएलका सीइओलाई जिम्मेवारी सुम्पिएको छ। 

इन्डियन प्रिमियर लिग (आइपीएल) का सीइओ हेमङ अमिनलाई अर्को नियुक्ति नहुँदासम्म बोर्डको सीइओको जिम्मेवारी सुम्पिएको बोर्डका पदाधिकारीले बताएका छन्। 

६ दिनअघि राहुललाई पदबाट निस्कासित गरिएको थियो। अमिनले २०१७ देखि आइपीएलको सीइओको भूमिकामा काम गरिरहेका छन्। 

बीसीसीआई बोर्डका अनुसार दुई महिनाभित्र नयाँ सीइओको छनोट हुनेछ। १७ जुलाईमा बोर्डको एपेक्स काउन्सिलमा यसको चर्चा हुने बताइएको छ।

अमिन गत वर्ष आइपीएलमा उद्घाटनको सट्टा खर्च हुने रकम पुलवामा मारिएका भारतीय सेनाका जवानको परिवारलाई दिलाउन सफल भएका थिए। यसपछि उनको चर्चा चुलिएको थियो।

प्रकाशित मिति: : 2020-07-14 16:58:43

प्रतिकृया दिनुहोस्