बंगलादेशका पूर्वकप्तानले जिते कोरोना, पत्नीको लडाईँ जारी

एजेन्सी

मुम्बई

बंगलादेश क्रिकेट टिमका पूर्वकप्तान मशरफे मोर्तजाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन्। घातक भाइरसको संक्रमण भएपछि उनी २० जुनदेखि घरमै उपचार गर्दै आइरहेका थिए। 

मोर्तजाले मंगलबार आफ्नो फेसबुक पेजमा अन्तिम परीक्षाको नतिजा नकरात्मक आएको जानकारी दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आशा छ कि सबै स्वस्थ छन्। भगवानको अनुग्रह र सबैको आशिर्वादबाट मैले कोरोनालाई पराजित गरेको छु। म ती सबैको लागि आभारी छु, जसले मलाई कठिन समयमा हैसला दिए र मेरो स्वास्थ्यको लागि चिन्ता व्यक्त गरे।’

३६ वर्षीय तिव्रगतिका बलर मोर्तजाले अगाडि लेखेका छन्, ‘म घरमा उपचार गरेर रोगबाट बाहिर निस्कन सफल भएँ। जो कोही संक्रमित हुनुहुन्छ भने सकारात्मक रहनुपर्छ। अल्लाहमा विश्वास राख्नुस् र नियमहरू पालना गर्नुहोस्। हामी भाइरससँग मिलेर लडिरहनेछौं।’

तर उनकी श्रीमती सुमोना हक अझै यो संक्रमणमुक्त हुन सकेकी छैनन्। मोर्तजाले लेख्छन्, ‘तर मेरी श्रीमती दुई हप्ता पछि पनि कोरोना भाइरसबाट संक्रमित छन्। उसको अवस्था राम्रो छ। उसको लागि प्रार्थना गरिरहनुहोस्।’

मोर्तजा सत्तारुढ अवामी लिग पार्टीका सांसद पनि हुन्। २० जुनमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

दुई अन्य बंगलादेशका क्रिकेटर नफीज इकबाल र नजमुल इस्लाम पनि घरमा उपचार गरेपछि संक्रमणमुक्त भएका छन्। यी दुवै क्रिकेटरहरूमा तीन हप्ता अघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-07-15 18:19:30

प्रतिकृया दिनुहोस्