नेकपा विवाद फेरि चुलियो, दुई समूहको बालुवाटार र खुमलटारमा बेग्लाबेग्लै बैठक

प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालबीच बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय छलफल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने भन्ने मागमा पुगेर बिनानिष्कर्ष सकिएपछि दुवै समूह बेग्लाबेग्लै मोर्चाबन्दीमा लागेका छन् ।

प्रचण्ड–नेपाल पक्षको खुमलटारमा बैठक भएको छ भने प्रधानमन्त्री ओली पक्षधरहरु बालुवाटारमा भेला भएर पछिल्लो अवस्थाबारे छलफल गरेका छन् । दुवै पक्षका बैठकमा शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ । 

नेकपा स्रोतका अनुसार, बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएलगत्तै खुमलटारमा बेग्लै बैठक भएको थियो भने प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ ५ बजे प्रधानमन्त्रीनिकट नेताहरुको बैठक बसेको थियो ।

खुमलटार बैठकमा सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, गोकर्ण विष्टलगायतका नेताहरु पनि खुमलटार पुगेका थिए । उनीहरुनेताहरुबीच झण्डै चार घण्टा छलफल भएको थियो । भेलामा पार्टी अनिर्णयको बन्दी बन्न नहुने बताउँदै स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटी बैठक डाकेर त्यहाँबाट बहुमतका आधारमा प्रधानमन्त्री ओलीलाई हटाउने निष्कर्ष निकालिएको स्रोतको दाबी छ ।

बालुवाटारमा भने प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी रहेको स्रोतले जानकारी दियो ।

बैठकमा प्रचण्ड–माधवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गर्न ओलीलाई दबाब दिएको विषयमा छलफल भएको थियो । उक्त बैठकमा शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले उठाउनसक्ने विषयबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि छलफल भएको थियो । 

प्रधानमन्त्री र प्रचण्डबीच यसअघिका छ वटा बैठकमा सहमति नजुटेपछि बिहीबार माधवकुमार नेपाल पनि बालुवाटार पुगेका थिए । तीन नेताबीचको छलफलमा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्‍याएका थिए भने ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल बालुवाटारबाट हिँडेका थिए । त्यसपछि पुनः दुई अध्यक्षबीच केहीबेर एक्लाएक्लै कुराकानी भएको थियो । शुक्रबारको स्थायी कमिटी बैठक भने बस्ने सहमति गरेर प्रचण्ड खुमलटार फर्केका थिए । 
ओली–प्रचण्डको नेपाल र पौडेलसहितको बैठक करिब घण्टा चलेको थियो । बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो । 

गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन दबाब दिए पनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

असार १८ गते सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि प्रचण्ड स्वयम्ले ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेको ब्रिफिङ स्थायी समितिका सदस्यहरुलाई गरेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । सहमतिको प्रयासमा दुवै अध्यक्षबीच बिहीबार समेत सात पटक छलफल भइसकेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड बहुमतको बलमा कम्तिमा पनि ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट हटाएरै छाड्ने रणनीतिमा छन् । 

ओली अरु विषयमा सहमति गरेर अघि जान तयार भए पनि दुवै पद कुनै पनि हालतमा नछाड्ने अडानमा छन् । अधिवेशनपछि अध्यक्ष र प्रधानमन्त्री चाहिँ अर्को चुनावपछि मात्र छाड्ने ओलीको अडान छ । 
 

प्रकाशित मिति: : 2020-07-16 23:22:05

प्रतिकृया दिनुहोस्