बनारसमा कपाल मुन्डन गराइएकाे युवक नेपाली नभएकाे खुलासा, पैसा लिएर अभिनय गरेको स्वीकार

केही दिनअघि भारतको बनारसमा एउटा धार्मिक समूहले नेपालीको कपाल मुन्डन गराएको भनिएका युवक वास्तवमा भारतीय मतदाता भएको खुलेको छ।

प्रहरीका अनुसार उनले पैसा लिएर भिडियो बनाउन सहमति दिएका हुन्।

नेपालमा निकै भाइरल भएको एउटा भिडियो फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा उनको कपाल मुन्डन गराएको भनिएको थियो।

अरुण पाठकको फेसबुक अकाउन्टमा अपलोड गरिएको यो भिडियोमा प्रधानमन्त्री ओलीको भाषणको विरोधमा एक युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन्।

यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन्।

जब भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध एफआईआर दर्ता गरेर सन्तोष पाण्डेयलाई पक्राउ गरेको थियो।

तर भिडियो खिच्ने पाण्डेयले विश्व हिन्दु सेना संगठनमा आबद्ध अरुण पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा पैसा दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका थिए।

घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।

नेपाली युवकका रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।

एसपी पाठकले भने, ‘आज हाम्रो सम्पर्क यो भिडियोमा देखाइएका व्यक्तिसँग भयो। उनी यही बस्छन्।’

उनका अनुसार ती व्यक्तिका आमा र बुवा जल संस्थानको कोलोनीमा बस्थे। उनीहरु भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्।

‘उनी यही सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यही वाराणसीमा भएको हो,’ एसपी पाठकले भने।

यसअघि शनिवार बिहान एसपी पाठकले उजुरी नदिएको बताएका थिए।

बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

‘यो पूरै घटनाक्रममा हामी थप प्रमाण सङ्कलन गर्दैछौँ र अन्य व्यक्तिको गिरफ्तारीका लागि प्रयास पनि हुँदैछ,’ एसपी पाठकले भने।

प्रकाशित मिति: : 2020-07-18 19:50:56

प्रतिकृया दिनुहोस्