कोरोनाको नियम तोड्ने सिबली पहिलो क्रिकेटर

एजेन्सी

म्यानचेस्टर

कोरोना महामारीका कारण लामो समय स्थगित क्रिकेट प्रतियोगिता इंग्ल्याण्डमा पुनः सुरु भएको छ। कोरोनाको नियम लागु गरेर सुरु भएको इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको खेलमा इंग्लिस बलर डोम सिबलीले नियम उल्लंघन गरेका छन्। 

बल चम्काउनका लागि बलमा थुक दलेपछि अम्पायरले उनलाई रोकेका थिए। यो घटना म्यानचेस्टर टेस्टअन्तर्गत चौथो दिनको खेलमा भएको हो। अम्पायरले उनलाई चेतावनी पनि दिएका छन्। 

कोरोना नियमअन्तर्गत बलिङ गर्ने टिमले दुई पल्टभन्दा बढी थुकको प्रयोग गरेको खण्डमा ब्याटिङ गर्ने टिमको खातामा पाँच रन अतिरिक्त थप्ने नियम बनाइएको छ। 

म्यानचेस्टर टेस्टमा सिबलीले बलमा थुक दलेपछि अम्पायरले तत्कालै बललाई आफ्नो नियन्त्रणमा लिएका थिए। सिबलीले झुक्किएर आफूले यस्तो गर्न पुगेकोमा क्षमा पनि मागेका थिए। अम्पायरले यसपछि बलमा सेनिटाइजर दलका थिए। यसपछि खेल पुनः सुचारु भएको थियो। 

इंग्ल्याण्डले दोस्रो इनिङमा २ विकेटको क्षतिमा ३७ रन बनाएको छ। यसअघि वेष्ट इन्डिजको पुरै टिम चौथो दिन पहिलो इनिङमा २ सय ८७ रनमा आउट भयो। 

म्यानचेस्टर टेस्टको तेस्रो दिन बर्षाका कारण पुरै दिनको खेल प्रभावित भएको थियो। इंग्ल्याण्डले पहिलो इनिङमा ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2020-07-20 10:07:33

प्रतिकृया दिनुहोस्