बोलिभियाका गल्ली र घरबाट ४०० लास बरामद

एजेन्सी

बोलिभिया

ल्याटिन अमेरिकी देश बोलिभियामा प्रहरीले पाँच दिनमा त्यहाँको गल्ली र घरबाट ४ सय मानिसको लास बरामद गरेको छ। प्रहरी निर्देशक इवाल रोजेसका अनुसार प्राप्त लासमध्ये ८५ प्रतिशत अर्थात ३ सय ४० जनामा कोरोना भएको आशंका गरिएको छ। अन्य मृतकको निधनको कारण अरु नै हुन सक्ने आशंका गरिएको छ। 

बोलिभियाको चोचाबाम्बा क्षेत्रमा १ सय ९१, ला पाजमा १४ र सेन्टा क्रुजमा ६८ लास भेटिएको थियो। यो क्षेत्रमा गत सातादेखि संक्रमितको संख्या बढेको बताइन्छ। सबै मृतकको पहिचान खुल्न सकेको छैन। यसका लागि प्रहरी प्रयासरत छ। बोलिभियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा छ। यहाँ ६२ हजार ३ सय ५२ जना संक्रमित भइसकेका छन्, जसमा २२ सय ७३ जनाको निधन भएको छ। 

बोलिभिया अहिले अस्थिर राजनीतिक अवस्थाबाट पनि गुज्रिरहेको छ। गत नोभेम्बरमा निर्वाचनमा धाँधली गरेको आरोपमा १४ वर्ष सत्तामा रहेका इभो मोरालेसले राजीनामा गर्नु परेको थियो।

प्रकाशित मिति: : 2020-07-23 08:07:37

प्रतिकृया दिनुहोस्