डब्लूएचओ भन्छ : सन् २०२१ अघि कोरोनाविरुद्धकाे खोप बन्ने सम्भावना छैन

एजेन्सी

जेनेभा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ। 

अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको  डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले बताएका हुन्।

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ। विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। यता  रुसको सेचनोव विश्वविद्यालयले कोभिड-१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको  छ।  

तर ऱ्यानले भने दावी गरिएको खोप पनि समयमै उपलब्ध नहुने जानकारी दिए। ‘कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन हुँदैन। अहिलेसम्म निर्माण गरिएको खोपबाट हामीले राम्रो सफलता प्राप्त गरिरहेका छौं। केही खोपले तेस्रो तहको परीक्षण पनि पार गरेको छ,’ डाक्टर ऱ्यानले बताए। 

उनका अनुसार परीक्षण गरिएका केही खोपहरु सुरक्षा मापदण्डका हिसाबले अहिलेसम्म सफल नै भएका छन्  ।

 ‘हामीलाई केही समय लाग्न सक्छ। किनभने आम सर्वसाधारणमा प्रयोग गर्नुभन्दा पहिले हामीले ती खोप सुरक्षित र प्रभावकारी रहेको कुरा सुनिश्चित गर्नुपर्छ। वास्तविक अवस्था हेर्ने हो भने अर्को वर्षको ६ महिनासम्ममा हामीले सर्वसाधारणलाई खोप दिने सम्भावना रहेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-07-23 11:29:14

प्रतिकृया दिनुहोस्