साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन्।
शनिबार ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन आग्रह गरेका हुन्।
उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ। संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनस्र्थापित गर्न सहायक सिद्ध हुन्छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन।’
साझा पार्टीका संयोजक कमिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए।
महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने उनले बताए।
बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो। यात्रामा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।
श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद भोगिरहेका रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी बिहीबार छुटेका थिए। काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो।
उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई सजायमा ११ वर्ष ६ महिना छुट दिएको हो।