अस्ट्रेलियामा कोरोना महामारीबाट जनजीवन प्रभावित

एजेन्सी

मेलबोर्न

कोरोना भाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । 

अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ । 

पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका दश जनाको मृत्यु भएको जानकारी दिनुभयो । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो । 

अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ । तर अस्ट्रेलियामा देखिएको कोरोना भाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ । सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ । 

शहरमा मास्क अनिवार्य गरिएको छ भने भिक्टोरिया राज्यलाई अस्ट्रेलियाका अन्य शहरबाट अलग गरिएको छ अर्थात् सम्पूर्ण आवतजावत बन्द गरिएको छ । प्रहरी र सेनाले राज्यका सीमाहरुको निगरानी गरिरहेका छन् भने अन्य राज्यबाट आफ्नो घर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको छ । 

तैपनि, आइतबार मात्र भिक्टोरियामा ४५९ नयाँ संक्रमित भेटिएका छन् । शनिबार पनि यहाँ ३५७ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । 

प्रकाशित मिति: : 2020-07-26 12:45:08

प्रतिकृया दिनुहोस्