विपद् प्रभावितलाई सुरक्षित स्थानमा

रासस

विदुर 

जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ । 

केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका–८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका कारण पाँच परिवारका छ घर पूर्णरुपमा क्षति हुँदा २१ जना प्रभावित भएका छन्। 

पहिराका कारण सात घर उच्च जोखिममा पर्दा २९ जना र ४३ घर जोखिम हुँदा २५१ जना प्रभावित भएका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिएका हुन्। 

पहिरामा परी २१ बाख्रा, दुई राँगा र एक भैँसी पुरिएको बताउदैं उनले भने, 'खोज उद्धारका क्रममा जोखिममा रहेकामध्ये २० परिवारलाई स्थानीय विद्यालयमा लगी सुरक्षित स्थानमा राखिएको र १० घरको सरसामान सुरक्षित स्थानमा सारिएको छ। घटना घटेको केही समयमा नै पहिरोबाट प्रभावित जनसमुदायलाई जिल्ला विपद् व्यवस्थापन समिति, बेलकोटगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र स्थानीयको समन्वयमा पीडित घरपरिवारलाई सम्बन्धित ठाउँमै पुगी बस्न र खानाकालागि टेन्ट, त्रिपाल र खाध्य राहत सामग्री वितरण गरेका छौँ।'

प्रजिअ ढकालले पहिराबाट पूर्णरुपमा घर क्षति भएका पाँच परिवारलाई पाँच थान टेन्ट, पाँच सेट गैरखाद्य सामग्री वितरण गरिएको छ भने जोखिममा रहेका घरका लागि दुई थान टेन्ट र ४० थान त्रिपाल बेलकोटगढी–५ को वडा कार्यालयको जिम्मा लगाएको बताए। उनले पहिराबाट प्रभावित भएका परिवारलाई छिटोभन्दा छिटो आवश्यक खाद्यान्न र रकम पु¥याउने प्रयास भइरहेको जानकारी दिएका हुन्।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले पहिरामा परी बेलकोट–८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको आफ्नै घर भत्किएर पुरिँदा मृत्यु भएको जानकारी दिए। घटनामा उद्धारका लागि नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणका सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी बल, खोज उद्धार समितिका सदस्य र निजामति कर्मचारीलगायतको समन्वयमा उद्धार कार्य गरिएको प्रहरी निरीक्षक पण्डितले बताए।

प्रकाशित मिति: : 2020-07-26 14:19:49

प्रतिकृया दिनुहोस्