कोरोनाका कारण दुबै हातको औला गुमाएका एक अमेरिकी संक्रमित २ महिनापछि ठिक

एजेन्सी

लस एञ्जल्स

कोरोना भाइरसको संक्रमणका कारण २ महिनासम्म अस्पतालमा भर्ना भएका एक बिरामीले आफ्नो औला गुमाएका छन्। 

अमेरिकाको लस एञ्जल्सका ५४ वर्षीय ग्रेग गारफिल्ड अमेरिकामा महामारी फैलिएको पहिलो महिना नै संक्रमित भएका थिए। इटालीको भ्रमणका क्रममा ग्रेगका साथी पहिले कोरोना संक्रमित भएका थिए। उनलाई साथीबाट सरेको थियो। ग्रेग अमेरिका फर्किएपछि मात्र उनलाई ज्वरो आउन सुरु गरेको थियो। 

लस एञ्जल्सको एउटा अस्पतालमा भर्ना भएका ग्रेसलाई भर्ना भएको ४८ घण्टाभित्र भेन्टिलेटरमा राख्नु परेको थियो। डाक्टरले उनी जिवित हुने सम्भावना एक प्रतिशत मात्र रहेको बताएका थिए। 

उनको फोक्सोमा अधिक समस्या थियो। उनको किड्नी र लिवरले पनि काम गर्न लगभग छोडिसकेको थियो। करिब ६४ दिन कोरोनासँग लडेका ग्रेगलाई ८ मेमा अस्पतालले डिस्चार्ज गरेको थियो। उनी ३१ दिन भेन्टिलेटरमा थिए। 

उनको दुबै हातको औला काट्नु परेको छ। डाक्टरले रगतको समस्याका कारण उनको औला काट्नु परेको बताएका थिए। यद्धपि औला काटेपनि उनी कोरोनालाई जितेर घर फर्किएका थिए।

प्रकाशित मिति: : 2020-07-27 05:54:00

प्रतिकृया दिनुहोस्