लगातार नवौँ सिजन युभेन्ट्स बन्यो लिग विजेता

एजेन्सी

काठमाडाैं

 युभेन्ट्सले जितेको इटालियन सिरी ए फुटबलको कीर्तिमान बढाउने लगातार नवौँ सिजनको उपाधि जितेकाे छ।

 लिग अन्तर्गत आइतबार राति भएको खेलमा साम्पदोरियालाई पराजित गरेर दुई खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो।

घरेलु मैदानमा युभेन्ट्सले १० खेलाडीमा सीमित भएको साम्पदोरियालाई २–० ले पराजित गरेको हो। 

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे।

पहिलो हाफको इन्जुरी समयको सातौँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाए।

उनले यो सिजन लिगमा ३१ गोल गरिसकेका छन्। ६७ औँ मिनेटमा फेदेरिको बेर्नार्देस्कीले गोल गरी अग्रता दोब्बर पारे। ७७ औँ मिनेटमा थोर्स्बी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साम्पदोरिया १० खेलाडीमा सीमित भएको थियो।

माउरिजिओ सारीको टिम युभेन्ट्स युरोपका शीर्ष पाँच लिगमा एक मात्र त्यस्तो टिम हो जसले लगातार नौ सिजन लिगको उपाधि जितेको छ।

गएको जुनमा लगातार आठौँ सिजन बुण्डेस लिगाको उपाधि जितेर बार्यन म्युनिखले युरोपको कीर्तिमानमा बराबरी गरेको थियो। तर युभेन्ट्सले नवौँ सिजन उपाधि जितेर एकल कीर्तिमान बनाएको छ।

गाेल्डेन बुटकाे हाेडबाट टाढा राेनाल्डाे

३१ गोल गरेका रोनाल्डो गोल्डेन बुटको होडमा केही पछि परेका छन्। लाजिओका किरो इमाबोलीले ३४ गोल गरिसकेका छन्।

सन् १९३३–३४ को सिजन यता सिरी ए मा युभेन्ट्सका लागि ३१ गोल गर्ने रोनाल्डो पहिलो खेलाडी पनि हुन्। त्यो बेला फेलिसी बोरिलले सिजनमा ३१ गोल गरेका थिए।

३५ वर्षका रोनाल्डोले कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग जुन २० देखि सुरु भएयता १० गतोल गरेका छन्।

दुई खेल बाँकी हुँदा युभेन्ट्सको ८३ अंक भएको छ। दोस्रो स्थानको इन्टर मिलानको ७६ तथा तेस्रो स्थानको एट्लान्टा र चौथो स्थानको लाजिओको समान ७५ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-07-27 07:43:44

प्रतिकृया दिनुहोस्