भारतको अयोध्या पनि रामकाे राज्य भनेर वैज्ञानिक हिसाबले प्रमाणित होइन: प्राध्यापक डा. मदन रिमाल (भिडियाे)

प्राध्यापक डा. मदनकुमार रिमाल, ६० । उनी त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख हुन् । उनले रामायणको बालकाण्डसँग सम्बन्धित स्थल– मिथिलाको पुरातत्व र संस्कृतिमा विद्यावारिधि गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका दिन त्रेतायुगका राजा भगवान रामको अयोध्या राज्य चितवनको अयोध्यापुरीदेखि पर्सा जिल्लाको ठोरी क्षेत्रमा फैलिएको हुनसक्ने अभिव्यक्ति दिए । त्यसपछि यो नेपाल र भारतमा चर्चाको विषय भएको छ । रामायणको वालकाण्डसँग जोडिएको तत्कालीन राज्य हो– विदेह राज्यको राजधानी मिथिला  (जनकपुर)। रिमालले त्यसै क्षेत्रबारे विद्यावारिधि गरेका हुन् । 

प्रा. रिमालले भने, ‘मेरो अध्ययनले ऋषि विश्वामित्रको आश्रम कोशी किनारमा रहेको देखाउँछ ।’ उनले विश्वामित्रसँग हिँडेका रामको २५सौँ दिन सीतासँग विवाह भएको पनि अध्ययनका क्रममा प्रमाणित गरेका छन् । उनले भने, ‘राजा जनकको दरबारमा रामले शिवधनु तोडेपछि त्यहाँबाट दूत आज हिँड्दा भोलि बिहान खबर लिएर अयोध्या पुगे । अयोध्याबाट जन्ती लिएर  हिँडेका राजा दशरथ एकै दिन जनकपुर पुगेका थिए । यसैका आधारमा खोज्दै जाँदा अयोध्या भेट्न सकिन्छ । त्यो अहिले जंगलमा पृथ्वीको गर्भभित्र छ ।’

लुम्बिनीमा गौतम बुद्धका पिता राजा शुद्दोधनको दरबार उत्खनन्मा गरी प्रमाणित गर्ने टीममा त्रिभुवन विश्वविद्यालयका तर्फबाट नेतृत्व गरेका थिए– प्राध्यापक रिमालले । प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि उत्पन्न विवाद र बहसबारे प्राध्यापक डा. मदनकुमार रिमालसँग माधव ढुङ्गेलले गरेको संवाद :

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका दिन राजा रामको राज्य अयोध्या नेपालको ठोरी क्षेत्रमा हुनुपर्ने बताएपछि अहिले संसारभरि यसको तरंग पैदा भएको छ । नेपाल र भारतमा समर्थन र विरोध जारी छ । प्रधानमन्त्रीले भन्नुभएजस्तै रामराज्य अयोध्या पर्साको ठोरीदेखि चितवनको अयोध्यापुरी क्षेत्रमा फैलिएको थियो होला कि भारतको उत्तरप्रदेशस्थित अयोध्या नै होला ? पुरातात्विक हिसाब हेर्दा के आउँछ ?

– रामायणमा उल्लेखित यी जति पनि स्थल छन्, ती ठाउँहरु थिए । वाल्मिकीले त्यत्तिकै लेखेका होइनन् । वाल्मिकी रामायण हामीले किन आधार मान्यौँ भने संस्कृत भाषामा लेखिएको यस क्षेत्रको सबैभन्दा प्राचीन रामायण त्यही हो । 

यद्यपि, रामायण हेर्नुहुन्छ भने २६ वटा भाषामा लेखिएका छन् । चाइनिज रामायण छ । इलियट ओडिसीलाई पनि रामायण नै भन्छन् । रोमसँग पनि रामायणको कथालाई जोडिएको छ । इण्डोनेशियाको बालीमा छ । भारत वर्षमै पनि तमिल रामायणदेखि नेपालको भानुभक्तले रामायण लेखेका छन् । हामीलेसंस्कृत भाषामा लेखिएको वाल्मिकी रामायणलाई सबैभन्दा प्राचीन मान्छौँ । 

अठारौँ शताब्दीका तुल्सीदासले लेखेको रामायण पनि हामी पढ्छौँ । भानुभक्तले लेख्नुभएको पनि धेरै भएको छैन । यी रामायणहरुको स्रोत वाल्मिकीको संस्कृत रामायण हो । हामी वाल्मिकीको संस्कृत रामायणलाई आधार मानेर खोजवीन र अनुसन्धान गर्छौं । 

वाल्मिकीले लेखेका धेरै ठाउँहरु गंगा नदीको उत्तरतर्फका ठाउँहरुसँग जोडिएको देखिन्छ–मिथिला, अयोध्या, वाल्मिकी आश्रम, विभिन्न ठाउँका जंगलबारे लेखेका कुरा ।  विश्वामित्र ऋषिको आश्रम  हाम्रो कोशी किनारमा थियो भनिन्छ । भारतको उत्तरर्फको भूभाग हुनाले ती घटना यस क्षेत्रमै भएको हुनुपर्छ भन्ने अनुमान गरेर त्यसलाई खोज्नुपर्छ । 

रामायण ‘मिथ’ हो कि सत्य घटना होला ? के लाग्छ तपाईंलाई ?

रामायणका शहरहरु कहाँ थिए भन्ने हाम्रो पुरातत्वमा पृथ्वीको गर्भमुनि छन् । कतिपयले रामायण ‘मिथ’ हो । कथा थियो । यो पछि लेखियो भनेको पनि पाइन्छ । 

साहित्यिक स्रोतलाई हेर्दै जाँदा ऋग्वेदको दशौँ मण्डलमा पनि राम र सीता छन् । हलो जोत्दा गर्दा जुन खाल्डो बन्छ, त्यसलाई सीता भन्छ । हामी पनि भातको सीता भन्छौँ । अन्नको रुपमा पनि सीतालाई मानेको देखिन्छ । 

वैदिक कालका व्यक्ति हुन् राम र सीता । पछि वाल्मिकीले तिनैलाई आधार मानेर लेखेको पनि हुनसक्छ । ‘राम कथा’ धेरै नै लोकप्रिय कथा हो । रामायण भयो, महाभारत भयो । यो भएकै हुनुपर्छ।जुन रुपले लेखेको छ,एउटा मात्रै लेखकको परिकल्पना त्यति हुनै सक्दैन। यी पटक–पटक विभिन्न चरणमा लेखिएका पनि भनिन्छन् । 

समग्रमा हामीले हेर्दा यसमा भएका घटनाहरु र ठाउँहरु ठाउँ हाम्रो अनुसन्धानका लागि पर्याप्त छ । ती ठाउँहरु खोज्नैपर्छ । 

रामायण पढ्दा बुझ्दै आएका थियौँ– सीता हाम्री छोरी हुन्, अयोध्याका राजा दशरथका छोरा राम चाहिँ ज्वाइँ हुन् । अब राम पनि यहीँका थिए भन्ने आएको छ ! राम अहिले नेपाली भूमिमै पर्ने राज्य अयोध्याका छोरा थिए कि भारतको अयोध्याका ?

– पुरातत्वमा हामी राजनीतिक सिमाना हेर्दैनौँ । रामायणको समयमा नेपाल भन्ने राष्ट्र थियो कि थिएन, त्यो पनि राम नै जानून् । 

अब रह्यो– रामायणका ठाउँहरु । अयोध्या छ, मिथिला (जनकपुर) छ । दुईठाउँको उल्लेख प्रशस्त भएको छ । यी शहरहरुको पनि वर्णन त्यहाँ छ। 
भनेपछि यी ठाउँ कहाँ थिए त ? यी ठाउँहरु गंगा नदीको उत्तरतर्फको ‘गांगेटिक प्लेन’ क्षेत्रको कहीँ हुनुपर्छ । अहिलेसम्म त्यो ठाउँ पहिचान हुन सकेको छैन । हाम्रो आस्था, विश्वास, धार्मिक भावनाले गर्दा हामीले त्यो ठाउँ यही हो भनेर निक्र्यौल गर्ने मात्र हो । 

नेपालकै छोरा वा नेपालकै ज्वाइँ भन्नुभन्दा पनि राम अयोध्याका थिए । राजा दशरथका छोरा थिए । यता जनककी छोरी सीतासित विवाह भएको थियो । कोशी र नारायणी, हिमाल र गंगा नदीको बीचको भूभागलाई मिथिला भन्ने गरिन्थ्यो । मिथिलाको यो क्षेत्र भनेर हरेक धर्मशास्त्रमा पनि बयान गरिएको छ । 

अब हामीलेअयोध्याको खोजी यसै गरी गर्नुपर्ने देखिन्छ । अयोध्याको चार सीमा कहाँ–कहाँ थियो ? अयोध्याको संभावना कहाँ हुनसक्छ भनेर खोज्नु राम्रो कुरा हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उठाउनुभएको जुन कुरा छ, उहाँ यो विषयको विज्ञ होइन तर उहाँलाई कसैले भन्यो होला । उहाँले उठाइदिनुभो। यो ‘आर्कियोलोजी’ (पुरातत्व) ले बोल्ने कुरा हो । त्यहाँ थिएन, यहाँ छ भनेर हामीले पुरातात्विक हिसाबले प्रमाणित गर्नुपर्ने कुरा हो । 

प्रधानमन्त्रीले मात्र होइन, जो कोही सर्वसाधारणले पनि उठाउन मिल्छ– त्यो कहाँ हो ? मिथिला खोज्नुपर्छ । अयोध्या खोज्नुपर्छ । 

मलाई सम्झना छ– भारतमा एकपटक २५–३० वर्षअघि टोली नै गठन भएको हो । रामायण क्षेत्र खोज्दै हिँडेका थिए– भारतीय विद्वानहरु । त्यसमा नेपालका जनकपुर क्षेत्रका मान्छे पनि संलग्न भएको मलाई थाहा छ । 

प्रोफेसर बीबी लालले पनि खोज्नुभो । उहाँले तृतीय शताब्दीभन्दा माथि जान सकिन भन्नुभो । यी सबै घटनाहरु हामीले हेर्दा कुनै पनि कुराले अहिलेको रामायण र महाभारतलाई सम्बोधन गर्ने किसिमका पुरातात्विक प्रमाणहरु हामीले भेट्न सकेका छैनौँ । 

हाम्रा धार्मिक साहित्यमा राम–सीताका कथाहरु प्रशस्तै भेटिए । त्यसलाई वैज्ञानिक दृष्टिकोणबाट हामीले पुष्टि गर्न सकेका छैनाैँ ?

खोजी जारी छ । 

के त्यसो भए रामायण नै ‘मिथ’ हो त ?

‘मिथ’ नै त म भन्दिनँ । कृषि सभ्यतामा आएपछिका घटना हुन्– रामायण, महाभारत । कृषि–सभ्यतामा हामी ईशापूर्व पाँच–छ हजार वर्ष पहिला अर्थात् करिब आठ हजार वर्ष पहिला आयौँ । 

सम्पूर्ण भारतीय उपमहाद्वीपको हेर्नुहुन्छ भने सबभन्दा पुरानो सिन्धुघाँटीको सभ्यता हो । अहिलेको भारत र पाकिस्तानमा आधा–आधा गरी यसका क्षेत्रहरु छन् । त्यो हाम्रो सबभन्दा विकसित सभ्यता हो । त्यो पछि ‘समाप्त’ भयो । त्यसका विभिन्न कारण होलान् । 

एउटा कारण चाहिँ खेतीयोग्य भूमि भएन । त्यहाँको पानीमा नूनको मात्रा बढी भयो भनेर त्यसलाई मान्छेले छाडे । गंगा नदीलाई समाते । त्यसको किनार–किनारमा सभ्यताको विकास भयो भनिन्छ । हामी पनि गंगा नदीकै सभ्यतामा विकास भएका मान्छे हौँ । रामायण वा महाभारतको कथा पनि गंगा नदीकै सभ्यतासँग सम्बन्धित छ । 

सामान्यतः सबै विद्वानले मानेको कुरा सिन्धुघाँटीको सभ्यताको विघटन ईशापूर्व १७औँ शताब्दीमा भयो । यो भनेको आजभन्दा करिब ३७ सय वर्षअघिको कुरा आयो । रामायणको घटना भएको छ भनेदेखि ईशापूर्व १५ सयतिर भएको हुनुपर्छ– आजभन्दा करिब ३५ सय वर्षअघि । 

धेरै विद्वानहरुले मानिआएको छ– महाभारत चाहिँ ईशापूर्व ९५० तिर भयो । आजभन्दा करिब तीन हजार वर्षअघि महाभारत भयो । 

रामायण महाभारतभन्दा पुरानो कथा हो । महाभारतमा पाण्डवहरु वनवास जाँदा विदुरले उदाहरण दिएर सम्झाएको छ– ‘हेर, इतिहास साक्षी छ । राम पनि १४ वर्ष वनवास गएका थिए । सपरिवार जंगलमा बसेका थिए । तिमीहरु पनि जंगलमा बस्नुपर्दा पीर नमान ।’ विदुरले रामायणलाई इतिहासका रुपमा महाभारतमा बोलेको देखिन्छ ।

त्यसपछि बुद्धको समयमा आउनुस्– ईशापूर्व छैठौँ शताब्दी । आजभन्दा २६ सय वर्षअघि बुद्ध भए । बुद्धका पनि जातक कथाहरु धेरै छन् । बुद्धले एक समयमा रामको रुपमा जन्म लिएको थिएँ भनेर दशरथ जातक जस्ता कथाहरु पनि त्यहाँ जोडिएका छन् । रामायणबारे बुद्ध पनि जानकारी राख्थे। 

रामको कथा जुन छ, त्यो भारत वर्षको यो उपमहाद्वीप क्षेत्रमा त्यसबेला एकदमै लोकप्रिय थियो ।घर–घरमा भन्ने कथाका रुपमा प्रसिद्ध थियो । त्यो त्यत्तिकै भएको होइन । यो ऐतिहासिक घटना नै हुनुपर्छ भन्ने धेरैको अनुमान छ । यसलाई प्रमाणित गर्न हामीले खोज्नुपर्छ । 

एक जना सर्वसाधारणले पनि संभावनाको कुरा गर्नसक्छ । मैले ‘आर्कियोलोजी’ पढेँ, तपाईंले पढ्नुभएको छैन तर कहीँ जाँदा यस्तो देख्नुभयो । यहाँ संभावना छ भन्न पाउनुहुन्छ । प्रधानमन्त्रीले पनि यहाँ संभावना छ, खोज भन्नुभएको हो ।

भारतको उत्तर प्रदेशको जुन अयोध्या छ, त्यो पनि ऐतिहासिक पुरातात्विक हिसाबले प्रमाणित त हैन । धार्मिक कथामै आधारित रहेर बनाइएको हो। हाम्रो अयोध्यापुरी–ठोरी क्षेत्र पनि त्यस्तै त भो । भारतमा बनिसकेको छ, हाम्रोमा बन्न बाँकी छ । प्रमाणित हुने संभावना यसको पनि त बराबरी नै छ नि ?

‘आर्कियोलोजी’ (पुरातत्व) मा प्राचीन सभ्यताहरु पृथ्वीको गर्भमा लुकेर बसेको हुन्छ । त्यसलाई उत्खनन् गर्ने हो । जस्तो भन्नुस् न ! ‘इन्डस भ्याली सिभिलाइजेसन’ (सिन्धुघाँटीको सभ्यता) पनि हामीलाई थाहा थिएन । जब ब्रिटिशहरुले पाकिस्तानको लाहोरबाट भारतको दिल्ली जोड्ने रेल–वे बनाउन थाले । त्यो बेला इँटा चाहियो ।

इँटा त यहीँ थुप्रो रहेछ भनेर निकाल्दै गए तर सिद्धिदैन ! के रहेछ भनेर खोज्दै जाँदा ‘इन्डस भ्याली सिभिलाइजेसन’ आयो । त्यसलाई ‘चाल्र्स फाइन्डिङ’ भन्छौँ हामी । 

पछि त्यसमा ह्विलर, मार्शलहरुले उत्खनन् गरे । लगभगब्रिटिशहरु भारत बसुञ्जेल त्यहाँ उत्खनन् गरे । अनि थाहा भो– ओहो यत्रो ठूलो सभ्यता रहेछ भनेर ! त्यस्तो संभावना नेपालमा छैन भन्न सकिँदैन । 

नेपालका विभिन्न ठाउँमा भन्नुस् न– किचक बध छ । विराटनगरमा बिराट राजाको दरबारै छ भन्छौँ हामी । मिथिला क्षेत्रमा राजा जनकको दरबार भएका क्षेत्रहरु छन् । विभिन्न ‘साइट’हरु हामीले अन्वेषण गर्न सकेकै छैनौँ । 

चारकोशे झाडीभित्र रहेका त्यत्रा क्षेत्रहरु छन् । नवलपरासी क्षेत्रमा छन् । उता कपिलवस्तु हेर्नुस् । ब्रिटिशहरुले खोेजेपछि पछि पीसी मुखर्जी आउनुभो । उहाँले यहाँ कपिलवस्तु थियो भन्नुभो । 

फुडरहरु आए, त्यसपछि अशोक स्तम्भ पत्ता लगाए । सम्भावना चाहिँ ‘आर्कियोलोजी’ मा जहिले पनि हुनसक्छ हेर्नुस् । 

प्रधानमन्त्रीले भनेको कुरामा अनुसन्धान गर्दै गएर उत्खनन् गरियो भने यस्ता प्रमाणहरु पाइयो, जसले यो रामायण कालको ‘साइट’ हो भन्ने मात्रै पनि पुष्टि गरिदियो भने संसारमा चमत्कार नै हुन्छ । यति आश्चर्य हुन्छ, रामायणले पनि एउटा आधिकारिकता पाउँछ ।

अहिले चर्चामा वाल्मिकी आश्रम, ठोरी, अयोध्यापुरीसमेत त रामायणको कथासँग ठ्याक्कै मेल खाने छ । यसको जनकपुरसँगको दूरी पनि मिल्छ भन्दै हुनुहुन्छ नि, विज्ञहरु ?

अयोध्यापुरीमा चाहिँ म जान पाएको छैन । यु–ट्युवमा आएका कुराहरु हेरेको छु । त्यसबारे साइटमा नगई केही भन्नै सक्दिनँ । 

वाल्मिकी आश्रम चाहिँ धेरै पटक गइयो । वाल्मिकी आश्रममाथि देखिएका जति पनि मूर्तिहरु छन्, त्यो मूर्तिकलाको दृष्टिकोणले हेर्नुहुन्छ भने पाल र सेन काल भन्छौँ हामी । सातौँ/आठौँ शताब्दीमा भारतको पश्चिम बंगालमा विकास भएको कलाको प्रभाव छ ।

सिम्रौनगढका राजाहरुले पनि त्यही कलाको प्रभावबाट मूर्तिहरु बनाए, जो काठमाडौं उपत्यकामा पनि आएको देखिन्छ । वाल्मिकी आश्रममा पनि देखेको त्यही मूर्तिहरु हो । 

अब पारिपट्टि पनि ‘साइट’ हरु छन् । मैले त्यहाँ जाँदा बीसौँ वर्ष पहिलेदेखि सुनिरहेकै कुरा हो । ती क्षेत्रमा पनि गएर अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । गण्डकी त्यहीँबाट बाहिर निस्केको छ । हामी नारायणी भन्छौँ, भारतले गण्डक भन्छ । यसको किनारमा सभ्यताहरु थिए । त्यसमा कुनै शंका छैन । 

हामीले अनुसन्धान गर्नुपर्ने हुन्छ– त्यहाँ पनि । त्यहाँसँगको ‘लिङ्क’ प्रधानमन्त्रीले भन्नुभएको क्षेत्र अयोध्यापुरीसम्म ल्याउन सक्यौँ भने केही न केही रामायणका कुराहरु आउँछन् कि भन्ने संभावना छ । 

रामायणमा उल्लेख भएअनुसारकोअयोध्या कहाँ हो भन्ने अहिलेसम्म वैज्ञानिक हिसाबले पुष्टि भएको छैन । भारतको अयोध्या पनि अप्रमाणित नै हो । प्रमाणित नभएकै बेलामा पनि तपाईं विज्ञहरुबीच त आन्तरिक बहस हुन्छ होला नि ! यी क्षेत्र खासमा के हुनसक्लान् ?

मानव सभ्यताका त्यति ठूला कथाहरु छन्– रामायण र महाभारत । तेस्रो शताब्दी ईशापूर्वमासम्राट अशोकले हामीलाई बुद्धको ढुंगाका, इँटाका पुरातात्विक प्रमाणहरु प्रदान गरे । त्यस कारण सम्राट अशोक प्रसिद्ध छन् । उनले विभिन्न ठाउँमा ढुंगाका स्तम्भहरु राखे । इँटाको निर्माण सुरु भयो । अशोककालीन इँटाहरु हाम्रो लुम्बिनी, कपिलवस्तुमा पाइन्छ । 

अशोकभन्दा अघि हामीसित काठ, बाँस सामग्री प्रयोग गरेर घर र राज्य बनाइन्थ्यो । कपिलवस्तु पनि उत्खनन् गर्दा आठौँ शताब्दी ईशापूर्वले त्यसलाई प्रमाणित गरिरहेको थियो । 

हामी प्रमाणित गरिरहेका छौँ– बुद्धभन्दा दुई सय वर्षअघिदेखि कपिलवस्तु राज्यको अस्तित्व थियो भनेर । हामीले त्यसरी खोज्ने एउटा सिल्सिला आउँछ। 

ईशापूर्व १५ सयदेखि बुद्धको समय र ईशापूूर्व तेस्रो शताब्दीसम्म पनि बलियो निर्माणको काम देखिँदैन । विभिन्न ठाउँमा आगलागी भएर ठूल्ठूला राज्य ध्वस्त भएका छन् । फेरि बनेका छन् । त्यसैले हामीले यी कथालाई जोड्ने दुई किसिमका माटोका भाँडाहरु पायौँ । 

अशोकभन्दा अघिदेखि नै चलनचल्तीमा आएको– एउटा हामीले पीजी वेयर भन्छौँ । एउटा एमबीपी वेयर भन्छौँ । 

यो दुइटा पाएपछि हामीले बुद्धकाल र त्योभन्दा अघिको समय रामायण, महाभारत काल भनेर पनि भन्ने गर्छौँ । माटोको भाँडाका टुक्राहरुबाहेक त्योबेलालाई प्रमाणित गर्ने आधारहरु न हामीलाई उपलब्ध छ, न भारतमा छ । कहीँ पनि छैन । 

त्यसकारण हामीले कति गहिराइमा उत्खनन् गर्ने हो ? अयोध्या कहाँ हो?मिथिलाको राजधानी जनकपुर हामीले मानिआएको ठाउँ हो भने त्यसको दूरीका आधारमा अयोध्यालाई खोज्न पनि सकिन्छ । 

त्यसबेलाको यातायातको विकास अनुसार भारतको अयोध्याबाट जनकपुर जन्ती आउन एक दिनमा संभव थिएन । सीतामातालाई लक्ष्मणले वाल्मिकी आश्रममा ल्याएर छाड्न पनि संभव थिएन भन्ने तर्कहरु छन् नि ! यो दूरीबारे कसरी अध्ययन गर्न सकिन्छ ?

मैले बीसाैँ वर्षअघि रिशर्च गरेको विषय हो यो । वाल्मिकी रामायण अन्य रामायणको तुलनामा निकै प्राचीन मानिन्छ । त्यसलाई आधार मानेर मिथिलाको सन्दर्भमा रामायणको बालकाण्डमा हामी सीमित हुन्छौँ ।
वाल्मिकी रामायणअनुसार ऋषि विश्वामित्रले आफ्नो यज्ञको सुरक्षा चाहे किनभने उतापट्टि (लङ्कामा) रावण थियो । रावणले बाधा गर्न सक्थ्यो । 
राजा दशरथकहाँ गएर मेरो सुरक्षाका लागि दुई जना छोरा पठाइदिनुस् भनेर माग गरे– विश्वामित्रले । दशरथले यज्ञको सुरक्षा गर्न राम–लक्ष्मणलाई पठाइदिए । विश्वामित्रले उनीहरुलाई सँगै लिएर जान्छन् । 

ऋषि विश्वामित्रलाई अघि लगाएर दुवै भाइ हिँडे । दूरी पत्ता लगाउन यो हेरौँ– पहिलो दिन आधा योजन हिँडे । एक योजनबराबर तीन किलोमिटर हुन्छ भनिन्छ । उनीहरु सरयु नदी पार गर्छन् । दक्षिण तटमा पुग्छन् । त्यहीँ विश्राम गर्छन् । 

दोस्रो दिन गंगा र सरयुको संगम– कामाश्रम भन्ने ठाउँ थियो । पौराणिक कथाअनुुसार जहाँ भगवान शिवजीले कामदेवलाई भष्म गरेका थिए, त्यो ठाउँमा गएर उनीहरु बास बस्छन् । 

तेस्रो दिन साँझ उनीहरु गंगा नदी तर्छन् । गंगा नदीको दक्षिणी तटबाट उनीहरु अन्धकार डरलाग्दो जंगलमा पुग्छन् । त्यहाँ उनीहरुले ताडका भन्ने राक्षसलाई बध गर्छन् र त्यहीँ विश्राम गर्छन् । 

भोलिपल्ट उनीहरु सिद्धाश्रम पुग्छन् । सिद्धाश्रम भनेको विश्वामित्रको आश्रम हो । सिद्धाश्रम हाम्रो अनुमानमा कोशी नदीको किनारमा हुनुपर्छ । अयोध्याबाट हिँडेको चार दिनमा उनीहरु सिद्धाश्रम पुगे ।

त्यहाँ छ दिन, छ रात बसे । विश्वामित्रको यज्ञ पूरा भयो । त्यसमा राम–लक्ष्मणले सघाए । त्यहीँ उनीहरुले राजा जनकले मिथिलामा परम धर्मयज्ञ सुरु गरेको थाहा पाए । त्यसैबमोजिम विश्वामित्रसँगै राम–लक्ष्मण शिवधनुष हेर्न भनेर जनकपुर हिँडे । 

जनकपुरमा धर्मयज्ञ सुरु गर्न लागेको थाहा पाएपछि राम–लक्ष्मणलाई शिवधनुबारे जानकारी भयो । भोलिपल्ट बिहानै तीनै जना सिद्धाश्रमबाट मिथिला हिँडे । यहाँ उनीहरुले एउटा कुरा भन्छन्– आश्रमबाट हिँडेको करिब आठ–दश घण्टामा बीस कोश हिँडेपछि सूर्यास्तको बेला स्वर्ण नदीको किनारमा पुग्छन् । त्यो रात त्यही विश्रम गर्छन् ।

स्वर्ण नदीबाट तीन योजनको दूरीमा अवस्थित ऋषिमुनिको आश्रममा पुगे । नदीको किनारै–किनार गंगा र स्वर्ण नदीको संगममा पुग्छन् । स्वर्ण नदी भयंकर थियो । त्यहाँबाट गंगापारि जान संभव थिएन । त्यसैले त्यो रात त्यहीँ बसे । 

भोलिपल्ट डुंगाबाट गंगा नदी तरे । गंगाको तटबाट वैशाली भन्ने ठाउँ देख्छन्– अहिले पनि छ पटनामा । नेपालका लिच्छविहरु पनि त्यहीँबाट आएको हो भन्ने भनाइ छ । 

त्यहाँ एक दिन राजा सुमतीको आतिथ्य ग्रहण गरेर भोलिपल्ट बिहानै उनीहरु विदेहको राजधानी मिथिला जान भनेर पूर्व–उत्तरतर्फ हिँडे । बाटोमा पर्ने अंगिरस भन्ने ठाउँमा गौतम ऋषिको आश्रम थियो । त्यहाँ ढुंगा बनेर बसेकी अहिल्याको उद्दार गरे । त्यो अहिल्या आश्रम अहिले पनि छ । जनकपुरको दक्षिणमा भारतमा पर्छ । 

त्यसै दिन विदेहका राजा जनकद्वारा आयोजित यज्ञस्थलमा पुगे । दूरी यसरी खोज्ने हो, हामीले ।

राजा जनकले उनीहरुलाई स्वागत गरे । भोलिपल्ट जनकले शिवधनु देखाए । शिवधनुलाई दरबारबाट ल्याएको आठ वटा ठूला पाङ्ग्रा भएको फलामको बाकसमा राखिएको थियो । त्यसै दिन अर्थात् अयोध्याबाट हिँडेको सोह्रौँ दिनमा रामले शिवधनु भाँचेका थिए । (सीतासँग रामको बिहे पक्का भएको थियो।)

दूतहरु त्यर्स दिन अयोध्या गएनन्, भोलिपल्ट अयोध्या पठाइए । स्वयम्वर त गर्नुपर्‍यो । यहाँ भन्छ– उनीहरु बेगयुक्त यानमा गए । हामी अनुमान गर्न सक्छौँ– त्यो यान समेवी घोटा हुनुपर्छ।

सिपाहीहरु वेगयुक्त यानमा धनुष भाँचेको तेस्रो दिन अयोध्या पुगे । आज हिँडेका, भोलिपल्ट बिहान अयोध्या पुगे । 

जनकराजाको दरबार र जानकी मन्दिर अहिले हामी जुन भनिरहेका छौँ, त्यहाँबाट आयोध्या कति दूरीमा छ भनेर खोज्न पश्चिमतिर हिँड्नुपर्‍यो ।
भोलिपल्टै राजा दशरथले जन्ति लिएर मिथिलातर्फ हिँडे । धनुष भाँचेको चौथो दिनमा जनकको दरबारमा जन्ती आइपुग्यो । भोलिपल्ट अर्थात् राम अयोध्याबाट हिँडेको पच्चीसौँ दिनमा रामको सीतासँग विवाह सम्पन्न भयो । वाल्मिकी रामायणमा जे लेखेको छ, मैले त्यही भनेको हो ।

अयोध्याबाट सीधै जाँदा जनकपुरसम्म जन्ती त एकै दिन पुगिने ठाउँमै रहेछ नि ?

धनुष भाँचेको भोलिपल्ट दूतलाई पठाइयो । तेस्रो दिन उनीहरु उहाँ पुगे । चौथो दिन जन्ति लिएर आए । अनि पाँचौँ दिन विवाह सम्पन्न भयो । 

अहिलेको भारत उत्तर–प्रदेशस्थित अयोध्याबाट जन्ति आएको थियो भन्ने पनि त प्रमाणित होइन । दूरीको हिसाबले हेर्दा हाम्रै अयोध्यापुरी वा ठोरी क्षेत्रबाटै जन्ति आयो भन्ने संभावना पनि त छ,होइन?

– हामीले खोज्ने भनेकै यसै गरी हो । हामीले लुम्बिनी कपिलवस्तु कसरी खोज्यौँ त भन्दा अलेक्जेन्डर कनिङ्घमले ह्वेनसाङ खासियान चाइनिज यात्रीहरु आएका थिए लुम्बिनी भनेर उनीहरुको बयानहरु पढ्दै गयौँं । ठाउँहरु खोज्दै गयौँ । पत्ता लगाउँदै गयौँ । बोधगया, सारनाथ, कुशीनगर, लुम्बिनी पत्ता लागे ।  

भारतको अयोध्या पनि प्रामाणिक होइन, हाम्रा प्रधानमन्त्रीले भनेको अयोध्या पनि प्रामाणिक हुन बाँकी छ । ‘आर्कियोलोजिकल’ हिसाबले हेर्दा त यी दुवै उस्तै न भए ? हाम्रो सरकारले के गर्नुपर्छ ?

– एक्सप्लोर गर्नुपर्‍यो । अन्वेषण र उत्खनन् गर्नुपर्छ– ‘आर्कियोलोजी’ मा । त्यो नगरी हामीले यसो हो भन्न सक्दैनाैँ ।
 

प्रकाशित मिति: : 2020-07-28 11:41:01

प्रतिकृया दिनुहोस्