अध्यक्ष ओलीद्वारा बैठक स्थगित, प्रचण्ड पक्ष बैठक बस्ने तयारीमा

आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजेका लागि तय भएको बैठक निर्धारीत समयभन्दा आधाघन्टा अघि स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन्।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ उनले भनेका छन्।

तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा तय भएको स्थायी समिति बैठक स्थगित गरेको सूचना जारी गरे पनि बैठक नरोकिने भन्दै एक दर्जन नेता बालुवाटार पुगेका छन्।

एक नेताका अनुसार १२ जना नेता बालुवाटार प्रवेश गरिसकेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अध्यक्ष ओली पक्षका सदस्यहरु समेत बालुवाटार पुगेका छन्।

‘हामी तीन जना बालुवाटारको बैठक कक्षमै छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एकजना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,’ प्रवक्ता श्रेष्ठले भने।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

प्रकाशित मिति: : 2020-07-28 12:07:38

प्रतिकृया दिनुहोस्