दुई एआइजीको पदस्थापन : कार्कीलाई एकेडेमी, शाही प्रशासनमा

एक साताअघि बढुवा भएका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

मन्त्रिपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उनीहरू प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए।

दर्ज्यानी चिन्ह पाएसँगै दुवै एआइजीको पदस्थापन भएको छ। जसअनुसार शाहीको मानव स्रोत तथा प्रशासन विभाग र कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ।

सोमबारको मन्त्रिपरिषद बैठकले दुबैको बढुवा सदर गरेसँगै पदस्थापनको निर्णय गरेको थियो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए।

यसैबीच, प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

 

प्रकाशित मिति: : 2020-07-29 17:41:41

प्रतिकृया दिनुहोस्