केन्द्रीय अनुशासन समितिको कार्यक्षमतामाथि पौडेलले उठाए प्रश्न

नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि वरिष्ठ नेता पौडेलले प्रश्न उठाएका हुन्।

शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। 

सोही बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णयसमेत गरेको थियो। 

नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्काशन गर्दा तनहूँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारवाही नगरेकामा असन्तुष्टि जनाए।

उनले तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सांसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणविना बागी उम्मेदवारलाई सघाएको भनेर विधानको दफा ३४ बमोजिम पाँच वर्षका लागि पार्टीबाट निष्कासनको कारबाही गर्नाले समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-07-30 13:21:37

प्रतिकृया दिनुहोस्