अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा निर्वाचनको मिति सार्न सुझाव

एजेन्सी

वासिङ्टन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावभन्दा ठिक ९६ दिनयता अमेरिकाको राष्ट्रपतिय निर्वाचनको मिति सार्न सुझाव दिएका छन्। 

यसै वर्ष आयोजना हुने चुनावमा अमेरिकाले पहिलो पल्ट ‘मेल–इन ब्यालेट’ अर्थात चिट्ठीमार्फत मतदान गर्ने नियम लागू गर्दैछ। यसमा ‘गलत र नक्कली’ मत झर्ने दावी  ट्रम्पले गरेका छन्। 

राष्ट्रपति ट्रम्पले निर्वाचनको मिति नजिकिँदै जाँदा यस्तो भनाई राखे पनि चुनाव टर्ने सम्भावना निकै कम छ। अमेरिकाको संविधानले राष्ट्रपतिलाई चुनावको मिति सार्ने अधिकार दिएको छैन। यसका लागि उनले दुबै सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ र सिनेटमा कानुन पास गराउनु पर्नेछ। सिनेटमा ट्रम्पको बहुमत पुगे पनि तल्लो सदनमा डेमोक्य्राटहरूको उपस्थिति बलियो छ। 

उनी घोषित चुनावको मिति सार्न सफल भए पनि लामो समय यसलाई यत्तिकै राख्न सक्ने छैनन्। अमेरिकी संविधानले राष्ट्रपतिको चुनाव २० जनवरीभित्र कुनै पनि हालतमा गराइसक्नु पर्ने निर्देशन दिएको छ। 

‘मेल–इन ब्यालेट’ को विरोध ट्रम्पले अहिले आएर गरेका होइनन्। उनी धेरै अघिदेखि यसको विरोधमा छन्। २२ जुनमा उनले एउटा ट्वीट गर्दै भनेका थिए, ‘यस्तो हो भने, अन्य देशमा बसोबास गर्ने लाखौं मानिसले मेल–इन ब्यालेट पठाउने छन्। डेमोक्य्राटले महामारीको बहानामा लाखौं नक्कली मेल–इन ब्यालेट पठाएर चुनावमा छारो हाल्ने प्रयास गर्नेछ। तर, हामी यसो हुन दिँदैनौं।’

सन् २०१६ मा एक चौथाई अमेरिकीले ‘मेल–इन’ बाट भोट हालेका थिए। अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा घोषणा गरिएको छ। यसपालि पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति ट्रम्प नै उठ्दै छन्। डेमोक्य्राटको तर्फबाट पूर्व उपराष्ट्रपति जो बिडेन मैदानमा छन्।

प्रकाशित मिति: : 2020-07-31 17:26:00

प्रतिकृया दिनुहोस्