वीरबहादुर राई सचिवमा बढुवा

सरकारले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरेको व्यक्तिलाई सचिवमा बढुवा गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।

राष्ट्रिय योजना आयोगमा कार्यरत राईसँगै वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडीको नाम सचिवका लागि सिफारिस गरेको थियो।

लोक सेवाआयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले बैठकले तीनजनाको नाम मन्त्रिपरिषदमा पठाएको थियो।

यस्तै आजकै बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो। बोर्डको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ।

 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

प्रकाशित मिति: : 2020-08-03 22:58:52

प्रतिकृया दिनुहोस्