स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार छानबिन गराैँ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न सरकारसमक्ष आग्रह गरेका छन्। 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विज्ञसँगको छलफलमा प्रतिपक्षी दलका नेताको रुपमा सहभागी देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै उक्त आग्रह गरेका हुन्। 

‘कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘यसका अलवा सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्नुपर्छ।’

यस्तै देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न आग्रह गरेका छन्।

उनले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सरकारलाई सुझाव दिएका छन्।

यस्तै उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्। नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव छ।

 कोरोना संक्रमितको संख्याको आधारमा देशका उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण गरी कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव देउवाले दिएका छन्।

यता आमरण अनशनमा बसेका युवाहरूको जायज माग सम्बोधन गरी जीवन रक्षा गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2020-08-04 15:00:28

प्रतिकृया दिनुहोस्