बेरुत बिस्फोटः बन्दरगाहका केही अधिकारी घरमै बन्धक

लेबनान सरकारले बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको जनाएको छ।

राजधानी बेरुतको समुन्द्री तट नजिकैको शहरमा भएको बिस्फोटमा मानवीय क्षति हुनुका साथै केही घर ध्वस्त भएको थियो।  

मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि अधिकारीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको जनाइएकाे छ।

बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा अचानक बिस्फोट हुँदा अहिलेसम्म मर्नेको संख्या १ सय ३५ पुगेकाे छ। अरु चार हजार भन्दा बढी मानिस घाइते भएका छन्। घटनापछि राष्ट्रपति मिचेल ओउनले आपतकाल घोषणा गरेका छन्।

बुधबार बसेको मन्त्रीस्तरीय मिटिङपछि राष्ट्रपति ओउनले दुई साताका लागि आपतकालको घोषणा गरेका छन्। राष्ट्रपति ओउनले  बिस्फोट ६ वर्षको दौरान पोर्टमा जम्मा भएको २७ सय ५० टन एमोनियम नाइट्रेटका कारण भएको बिस्फोट भएको बताएका छन्।

राष्ट्रपति ओउनले भने, ‘बेरुतमा गएराति भएको काहालिलाग्दो घटनाबारे बोल्न सक्ने अवस्था छैन।’ राष्ट्रपतिले कुनै आतंकवादी घटना हुन सक्ने भन्दै रक्षा मन्त्रालयका अधिकारीसँग कुराकानी गरिरहेका छन्। 

यता भन्सार प्रमुख बाड्री डाहेरले रसायन त्यहाँबाट हटाउन आग्रह गरिएको भने पनि अटेरी गरिएकाले बिस्फाेट भएको बताएका छन्।

एमोनियम नाइट्रेड खेतीमा मल तथा बिस्फोटक पदार्थका रुपमा पनि प्रयोग हुन्छ। तर बिस्फोटको कारण अहिलेसम्म पत्ता लागेको छैन।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ। फैसला शुक्रवार हुँदै थियो। 

लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा भन्दा कडा कारवाही गरिने बताएको छ।

प्रकाशित मिति: : 2020-08-06 07:16:52

प्रतिकृया दिनुहोस्