बेरूतमा रहेका नेपाली सुरक्षित, बिस्फोटमा परि मर्नेको संख्या १०० नाघ्यो

लेबननको राजधानी बेरूतमा रहेका नेपालीहरू सुरक्षित रहेका छन्। लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले नेपालीहरु सुरक्षित रहेको जनाएको छ। प्रारम्भिक सूचनाअनुसार नेपालीलाई कुनै असर नपरेको भन्दै दूतावासका प्रवक्ता सुजन विडारीले हामीले निकै नजिकबाट थप सूचनाहरू लिइरहेको बताए।

यसैबिच गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्ष हेम मगरका अनुसार लेबनानभरि झन्डै १२ सय नेपाली कार्यरत छन्। घटनामा कोही पनि नेपाली परेका छैनन्।

बेरूतमा मंगलबार भएको ‍ठूलो बिस्फोटनमा परि मर्नेको संख्या १०० नाघेको छ भने ४ हजारभन्दा धेरै मानिस घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेरुतको बन्दरगाहामा राखिएको झन्डै २७ सय ५० टनको विस्फोटक पर्दाथ (एमोनियम नाइट्रेट) राखिएको गोदाममा विस्फोट भएको थियो। समुन्द्री छेउमा भएकोले विस्फोटबाट निस्किएको आधा धक्कामात्रै बेरुततिर आएको र आधा समुन्द्री भागतिर गएको थियो।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ। फैसला शुक्रवार हुँदै थियो।

पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता देखिएको छ।

सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्वपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो।

त्यसबाहेक लेबनन र इजरायलबीच पनि तनाव देखिएको छ।

प्रकाशित मिति: : 2020-08-05 12:54:30

प्रतिकृया दिनुहोस्