कोरोना बढ्न थालेपछि मेलबर्न ६ साताका लागि ‘लकडाउन’

एजेन्सी

मेलबर्न

अस्ट्रेलियाको मेलबर्न शहरमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले कलकारखाना, पसल तथा अत्यावश्यक नभएको व्यापार ६ साताका लागि बन्द गर्ने निर्णय गरेको छ। 

यस्तै, सरकारले रात्रीकालिन कफ्र्यूको आदेश पनि दिएको छ। मेलबर्नमा मात्र हाल ५० लाख मानिस बसोबास गर्छन। 

करिब १० लाख कामदारलाई घरबाट काम गर्न भनिएको छ। छुट्टिमा बस्न चाहनेलाई १४ दिनको अग्रिम भुक्तानी दिन भनिएको छ भने घर चलाउन केही नहुनेहरूको हकमा १५ सय अस्ट्रेलियन डलर सरकारले उपलब्ध गराउने भनेको छ। यसका लागि नागरिकहरूले फर्म भर्नु पर्नेछ। 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको फैलिदो अवस्थालाई रोक्न ‘लकडाउन’ गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन्। 

अस्ट्रेलियामा हाल १९ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। जसमा भिक्टोरियामा मात्र १३ हजारभन्दा बढी संक्रमित फेला परेपछि सरकारले यो कदम उठाउनु परेको हो। अस्ट्रेलियामा हालसम्म २ सय ५५ जनाको निधन भएको छ, जसमा भिक्टोरियामा मात्र १ सय ७० ले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा भिक्टोरियामा थप ७ सय कोरोना संक्रमित फेला परेका थिए।
 

प्रकाशित मिति: : 2020-08-06 17:36:01

प्रतिकृया दिनुहोस्