चीनमा फेरि एक क्यानेडाली युवालाई फाँसीको सजाय

एजेन्सी

बेइजिङ

लागूऔषध तस्करीको मुद्दामा चीनले क्यानेडाली युवकलाई फाँसीको सजाय सुनाएको छ। क्यानेडाली नागरिक सु वेइहोङलाई केटामाइन बनाएर चीनमा तस्करी गरिरहेको आरोपमा बुधबार फाँसीको सजाय सुनाइएको हो। 

चीनमा पछिल्लो केही वर्षमा तीन जना क्यानेडाली नागरिकलाई फाँसीको सजाय भएको हो। बुधबार ग्वाङ्झु नगरपालिकाको अदालतमा वेइहोङलाई फाँसीको सजाय सुनाइएको थियो। उनको साथी वेन गुआनसियोङलाई भने आजिवन जेल सजाय सुनाइएको छ। 

ग्वाङ्झु अदालतले यसको समीक्षाका लागि सर्वोच्च अदालतमा सबै मिसिल पठाएको छ। गत वर्ष दुई क्यानेडाली नागरिकलाई पनि लागु औषध तस्करीमा मृत्युको सजाय सुनाइएको थियो। सन् २०१९ को जनवरीमा रोबर्ट लोयडलाई मृत्युको सजाय भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ड्र्डोले विरोध जनाएका थिए। लगत्तै मे महिनामा पनि फान वेई नाम गरेका अर्का क्यानेडाली नागरिकलाई मृत्युको सजाय भएको थियो। 

हालै मृत्यु दण्ड दिइएका दुई क्यानेडाली नागरिक सन् २०१६ को अक्टुबरदेखि केटामाइन बनाउने अभियानमा रहेको अदालतको निस्कर्ष छ। उनीहरूबाट १ सय २० किलोग्राम केटामाइन फेला परेको प्रहरीले बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले वेइहोङको मृत्यु दण्डको सजायले चीन–क्यानडाबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने बताएका छन्। 

क्यानडाले सन् २०१८ मा भ्यानकुवर विमानस्थलबाट चिनियाँ कम्पनी हुवावेका संस्थापककी छोरी मेङ वानझोउलाई गिरफ्तार गरेको थियो। यो घटनापछि दुबै देशबीच सम्बन्ध चिसिएको छ। अमेरिकाले भने मेङलाई सुपदर्गी गर्न क्यानडालाई दबाब दिइरहेको छ। मेङमाथि अमेरिकाले धोका दिएको आरोपमा आफ्नो देशको अदालतमा मुद्धा दर्ता गराएको छ।

प्रकाशित मिति: : 2020-08-06 18:12:12

प्रतिकृया दिनुहोस्