प्रधानमन्त्री ओलीद्वारा राजापाक्षलाई बधाइसँगै नेपाल भ्रमणको निम्तो

 प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाइ ज्ञापन गरेका छन्।

श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजापाक्षको पार्टीले जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन्।

प्रधानमन्त्री ओलीले शुक्रबार फोनमार्फत् नेपाल सरकार, नेपाली जनता, आफू र आफ्नो पार्टी नेकपाको तर्फबाट बधाइ र शुभकामना दिएको ट्वीटमार्फत् जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले उनका समकक्षी राजापाक्षलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रधानमन्त्री ओलीको फोन र शुभकामनाप्रति राजापक्षले धन्यवाद ज्ञापन गरेका छन् । उनले ट्वीटमार्फत् नै प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए।

संसदीय निर्वाचनमा राष्ट्रपति गोटब्या राजापाक्ष र उनका भाइ महिन्दा राजापक्षको पार्टी श्रीलंका पिपल्स फ्रन्ट (एसएलपीपी) र सहयोगी दलहरुले दुई तिहाइ सिट जितेका छन् ।

जितसँगै महिन्दा राजापाक्षलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। उनले नै गएको नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका थिए।

श्रीलंकाको आमनिर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपल्स फ्रन्टले कुल २२५ मध्ये १४५ सिट जितेको हो । पाँच सिट भने एसएलपीपीको सहयोगी पार्टीले जितेको छ।

श्रीलंकामा चीन समर्थक महेन्द्रा राजपाक्षेंको पार्टीलाई दुई तिहाई बहुमत

प्रकाशित मिति: : 2020-08-07 16:01:51

प्रतिकृया दिनुहोस्