श्रीलंकामा चीन समर्थक महेन्द्रा राजपाक्षेंको पार्टीलाई दुई तिहाई बहुमत

एजेन्सी

कोलम्बो

भारत विरोधी मानिएको श्रीलंका पिपुल्स पार्टीले श्रीलंकाको आम निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको छ। 

प्रधानमन्त्री महेन्द्रा राजपाक्षेंको यस पार्टीले २ सय २५ सिटका लागि भएको निर्वाचनमा १ सय ४५ सिट एक्लैले जितेको छ। सहयोगी दलमार्फत उसले १ सय ५० सिटमा कब्जा जमाएको छ। 

यो नतिजापछि महेन्द्रा राजपाक्षें प्रधानमन्त्री पदमा यथावत रहने छन्। श्रीलंका पिपुल्स पार्टी भारत विरोधी तथा चीन समर्थक मानिन्छ। श्रीलंकामा गत बुधबार निर्वाचन भएको थियो भने बिहिबारदेखि मतगणनाको काम चलिरहेको थियो। 

महेन्द्रा राजपाक्षेंको पार्टीले ९ महिनाअघि राष्ट्रपतिको चुनाव पनि जितेको थियो। यसमा उनको भाई गोतबाया राजपाक्षेंले १८ नोभेम्बरमा सपथग्रहण गरेका थिए। 

पूर्व प्रधानमन्त्री रानिल विक्रमसिंघेको युनाइटेड नेशनल पार्टीले एक सिट मात्र जित्न सफल भयो। विक्रमसिंघे आफै चुनाव हारेका छन्। सन् १९७७ पछि उनले पहिलो पल्ट पराजयको मुख हेर्नु परेको छ।

यस्तै, सजिथ प्रेमदासाको एसजेपी पार्टीले भने ५५ सिट प्राप्त गरेको छ। तमिल पार्टीले १०, माक्र्सवादी पार्टीले ३ सिट प्राप्त गरेका छन्।

श्रीलंकाको संसदीय व्यवस्थामा बहुमतका लागि १ सय १३ सिट आवश्यक पर्ने गर्दछ। यहाँ १ सय ९६ सिटका लागि प्रत्यक्ष निर्वाचन हुने गर्छ भने २९ सिट कूल भोट खसेको आधारमा पार्टीबाट सदस्य नियुक्त हुने गर्छन्। 

श्रीलंकामा १ करोड ६० लाख मतदाता थिए। यो चुनाव पहिले २५ अप्रिलमा तय थियो तर कोरोना महामारकिा कारण त्यसलाई स्थगित गर्दै ५ अगस्टमा भएको हो।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले  श्रीलंका पिपुल्स पार्टीका महेन्द्रा राजपाक्षेंलाई बधाई दिँदै नेपाल भ्रमणकोसमेत निम्तो दिएका छन्।

 

Thank you to @PM_Nepal KP Sharma Oli for your call, warm wishes and the invitation to visit Nepal. Sri Lanka values its friendly relations with your country & will always stand by the people of Nepal in times of need. I look forward to further enhancing our cooperation.

— Mahinda Rajapaksa (@PresRajapaksa) August 7, 2020
प्रकाशित मिति: : 2020-08-07 14:52:35

प्रतिकृया दिनुहोस्