गोंगबु विभत्स हत्या: कृष्णबहादुरले डिप्रेसनकी बिमारी कल्पनालाई गरिरहन्थे ‘यौन दुर्व्यवहार’ (भिडियाे)

दीप सुवेदी

काठमाडाैं

टोखा नगरपालिका १० गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

चितवनबाट सोमबार बेलुका पक्राउ परेकी ३७ वर्षकी कल्पना मुडभरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

चितवनको कालिका नगरपालिका ७ स्थायी घर भएकी उनी गोंगबु क्षेत्रमा बस्दै आएकी थिइन्। कल्पनालाई सोमबार चितवनबाट पक्राउ गरिएको थियो। उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले काठमाडौं ल्याएको थियो।

‘मंगलबार बिहान काठमाडौं ल्याएपछि कल्पना आफैंले हत्या भएको स्थानमा हामीलाई पुर्‍याएकी हुन्,’ एसएसपी ज्ञवालीले भने।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो। सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो टाउको र खुट्टा राखिएको जेब्रा झोलासम्म पुर्‍याउने कुकुर हो।

प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसो सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

सुटकेश भेटिएको स्थानभन्दा करिब सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा रहेको कोठामा कृष्णबहादुरको हत्या भएको एसएसपी ज्ञवालीले जानकारी दिए।

उनका अनुसार कोठामा रगतको दाग पनि भेटिएको छ। उक्त कोठामा  कल्पना छोरा र छोरीसहित तीन जनाको परिवार बस्थ्यो। शाही छोरीसँग बस्दै आएकी थिइन्। श्रीमानभन्दा अलग बस्दै आएको उनले बताए।

प्रारभ्मिक अनुसन्धानमा मृतक कृष्णबहादुर र कल्पनाबीच निकट सम्बन्ध रहेको पाइएको एसएसपी ज्ञवालीले बताए। 

आरोपित कल्पना र कृष्णबहादुरबीच पछिल्लो तीनचार वर्षदेखि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिकिएका थिए। 

विगत सात–आठ महिनादेखि कृष्णबहादुर गोंगबुको एक गेस्टहाउसमा बस्ने गरेको कल्पनाले बयानमा बताएको एसएसपी ज्ञवालीले जानकारी दिए।

कृष्णबहादुरले आफूमाथि यौन दुर्व्यवहार गर्ने तथा आफ्नो तस्वीर राखेर ‘फेक फेसबुक आइडी’ बनाएर दुःख दिने गरेको उनले दाबी गरेकी छिन्।

‘कल्पनाले आफू डिप्रेसनको बिमारी भएको र बोहराले पटक पटक यौन दुर्व्यवहार गरेकाले सहन नसकी हत्या गरेको बताएकी छिन्,’ एसएसपी ज्ञवालीले भने।

कृष्णबहादुर कल्पनाको कोठामा शनिबार साँझ ६ बजे पुगेका थिए। त्यसपछि कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेकी छिन्। 

‘आरोपीले दहीमा नसालु पदार्थका पाँचवटा ट्याब्लेट मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा प्रहार गरेको स्वीकार गरेकी छन्,’ एसएसपी ज्ञवालीले भने।

उनले कृष्णबहादुरको अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेपछि शव व्यवस्थापन गर्न टाउको र खुट्टा काटिएको बताएकी छिन्।

प्रहरीले हत्यामा प्रयोग भएका हम्मर, २ वटा खुकुरी समेत बरामद गरेको छ।

प्रहरीका अनुसार अण्डकोशमा प्रहार गरेपछि सलले घाँटी कसेर मृत्यु पक्का गरेको कल्पनाले बताएकी छिन्। त्यसपछि भान्छामा रहेको हतियारले टाउको र खुट्टा काटी शरीर सुटकेसमा राखेर बाहिर फालेको उनले बताएकी छिन्।

शरीर फालेपछि दोस्रो पटकमा झोलामा टाउको र खुट्टा राखेर फालेको बयान उनले दिएकी छिन्। शवलाई सुटकेश र झोलामा राखेर सडकसम्म ल्याउन कल्पनालाई छोरीले सहयोग गरेको खुलेको छ।

‘त्यतिबेला पानी परिरहेको र छोरीले छाता ओडाउने काम गरेकी थिइन्,’  एसएसपी ज्ञवालीले भने,‘ छोरीलाई पनि पक्राउ गरिएको छ।’

हत्या गरेपछि चितवनबाट बिरामी लिएर आएको एम्बुलेन्समा फर्किएको कल्पनाले बयान दिएकी छिन्। ‘चालकलाई आफूले चिनेको र सोही एम्बुलेन्समा आइतबार बेलुका चितवन गएको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने।

 

याे पनि 

अण्डकोषमा प्रहार गरी बेहोस बनाएँ, घाँटी थिचेर हत्या गरि टाउको छिनालेँ र त्यसपछि खुट्का काटेँ’- अभियुक्तको बयान ‍‍(भिडियाे)

गोंगबुमा शव भेटिएका बोहराको हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शवको परिचय खुल्याे

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचानका लागि प्रहरीद्वारा फोटो सार्वजनिक

गोंगबु विभत्स हत्या अपडेटः शव अरु ठाउँमै टुक्राटुक्रा पारेकाे प्रहरीको प्रारम्भिक निष्कर्ष

गोंगबु विभत्स हत्या अपडेटः शरीरबाट छुट्टिएको खुट्टा र टाउको कुकुले पत्ता लगायो

काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेको शव सुटकेसमा फेला पर्‍यो

प्रकाशित मिति: : 2020-08-11 12:11:54

प्रतिकृया दिनुहोस्