कोरोनाको उपचार : राम नाम सत्य हो

रातोपाटी

काठमाडौं

 

खगेन्द्र संग्रौला

‘सरकारले लाखौँ खर्च गरेर संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने, जनताले चाहिँ मास्क लगाउने, दूरी कायम गर्ने सामान्य जिम्मेवारी पनि पूरा गर्नु नपर्ने ?’

 — महावाणी

यो महावाणीमा विनम्रता ध्वनित हुन्छ कि दुच्छरपना ? शालीनता कि दम्भ ? करुणाशीलता कि क्रूरता ? म भन्दिनँ, जानिफकार पाठक स्वयं जान्दछ । झट्ट सुन्दा यो महावाणी श्री रामका परम्भक्त केपी शर्मा ओलीको जस्तो लाग्ला । तर होइन । ओली प्रवृत्तिको स्वभाव कोरोनाको जस्तै छ । यो उसैगरी एकबाट अर्कोमा सल्किन्छ । खासगरी उपरवाले ख्वामित्बाट नीचेवाले भक्त र अनुचरमा । कोरोना प्रवक्ता डा. जगेश्वर गौतम कोरोना अपडेटको कर्मकाण्डमा जब बोल्छन्, यिनका मुखबाट ठ्याक्कै ओली बोलेजस्तो लाग्छ । प्रमाण माथिको महावाणी हो ।

यो महावाणीको पछिल्लो अंशमा मेरो खासै विमति छैन । हो, जनतामा हेलचेक्रयाइँ छ, लापर्बाही छ । जनतामा कोरोना अरुलाई सल्किएला, म जोगिन्छु भन्ने शठमति छ, हठमति छ । जनजनमा व्याप्त यो शठमति, यो हठमति किमार्थ अनुमोदनयोग्य छैन । तर महावाणीको अघिल्लो अंशमा मेरो गम्भीर प्रश्न छ । सरकारले लाखौँ खर्च गरेर संक्रमितको उपचार गर्नुपरेको कसको सम्पत्तिले हो ? जनताले तिरेको करबाट सञ्चित राज्यकोषको सम्पत्तिले ? कि ख्वामित् ओलीको निजी सम्पत्तिले ? कि निजका अरौटे यी डा. गौतमको पैत्रिक सम्पत्तिले ? जनताको यो उपचार सरकारको कृपा हो कि कर्तव्य ? यो उपचार सरकारको स्वेच्छिक कर्म हो कि वाध्यात्मक ? यो सम्पत्ति राज्यकोषको हो र यो उपचार सरकारको वाध्यात्मक कर्तव्य हो भने ओलीको बोलीमा डा. गौतमको यो दुच्छर घुर्की किन ? यो तुच्छ दम्भ किन ? जनताले यिनका सामु हात पसारेर यिनको निजी सम्पत्तिले निःशुल्क उपचार गरिमागेका हुन् र ?

प्रकाशित मिति: : 2020-08-12 12:20:22

प्रतिकृया दिनुहोस्