भारतमा कोरोनाको संक्रमण द्रुतगतिमा बढ्दै, एकै दिन ६७ हजार बढी संक्रमित

विश्वभरि कोरोना भाइरसको संक्रमणको संख्या घटिरहेको बेला भारतले सबै देशलाई उछिनेको छ। अहिले अमेरिकाभन्दा बढी दिनमा कोरोना संक्रमित फेला पर्न थालेका छन्। 

बुधबार मात्र भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको थियो। यहाँ २४ घण्टामा ६७ हजार १२ संक्रमित फेला परेका थिए। 

यसअघि एक दिनमा सबैभन्दा बढी संक्रमित गत अगस्ट ८ मा फेला परेको थियो। त्यतिबेला ६५ हजार १ सय ५६ जना एकै दिनमा संक्रमित भएका थिए। 

भारतमा यतिबेला संक्रमितको संख्या बढेर २३ लाख नाघेको छ। सरकारले कोरोना संक्रमितको संख्या रोक्न नयाँ–नयाँ कदम उठाएको छ। तर, त्यो कोरोनाका अगाडि बेअसर सावित भएका छन्। 

सरकारले यसअवधिमा संक्रमितको संख्या बढेपनि ठिक हुनेको संख्यामा पनि सुधार आएको दावी गरेको छ। 

बुधबार मात्र २४ घण्टाभित्र  ५७ हजार ७ सय ५९ जनाले स्वास्थ्य लाभ गरेको भारतीय स्वास्थ्य मन्त्रालयको रिपोर्ट छ। यहाँ बुधबार ९ सय ५० जनाको कोरोनाका कारण निधन भएको थियो। 

अहिले पनि सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमै देखिएको छ। यहाँ बुधबार १२ हजार ७ सय १२ जना नयाँ संक्रमित फेला परेका थिए। 

महाराष्ट्रमा हालसम्म ५ लाख ४८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। भारतमा २३ राज्यमा कोरोना संक्रमणका कारण निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-13 07:38:00

प्रतिकृया दिनुहोस्