मालीमा सैन्य ‘कु’ को प्रयास, राष्ट्रपति र प्रधानमन्त्री बन्धक

अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयास भएकाे छ।

माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई बन्धक बनाएर ‘सैन्य कू’ को प्रयास गरिएकाे हाे।

सुरक्षाकर्मीले उनीहरुलाई राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मालीका सैनिकमा पारिश्रमिकलाई लिएर आक्रोश छ। यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि सैनिक असन्तुष्ट रहेका छन्।

राष्ट्रपति केइताविरुद्ध केही समययता भइरहेको प्रदर्शनबीच सैनिकहरुले सत्ता आफ्नो हातमा लिएको बताइएको छ। 

सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ।

यता, अफ्रिकी युनियनले मालीमा गरिएको ‘कु’ को विरोध गरेका छन्। फ्रान्सले पनि सेनालाई सत्ता आफ्नो हातमा नलिन र ब्यारेकमा फर्कन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-08-19 07:25:16

प्रतिकृया दिनुहोस्