मेसी र रोनाल्डोकाे वालेन डी’ओरमाथिकाे अधिपत्य ताेड्न पीएसजी आएकाे हुँ: नेयमार

वार्यनकाे सामना गर्न तयार छाैं

ब्राजिली स्टार नेयमारले आफ्नाे लक्ष्य लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोले जस्तै वालेन डी’ओर जित्ने रहेकाे बताएका छन्।

नेयमारले मेसी र रोनाल्डोलाई आफ्नो पिढीको सर्वश्रेष्ठ खेलाडीको रुपमा स्वीकार्दै आफू वालेन डी’ओरमा पुरा रुपमा केन्द्रित रहेको बताए।

‘मेसी र रोनाल्डोले पछिल्ला १० बर्ष वालेन डी’ओरमा अधिपत्य कायम गरे। किनकी उनीहरु यस ग्रहका थिएनन्। यसलाई जित्नु सम्मानको बिषय हो। मेरो ध्यान मैदानमा के जित्ने र क्लबलाई जिताउनमा के सहयोग गर्ने भन्नेमा केन्द्रित छ,’ नेयमारले गाेल डटकमसँगकाे कुराकानीमा भनेका छन्।

बार्सिलोनाका मेसी र युभेन्ट्सका रोनाल्डोले पछिल्ला १२ मध्य ११ पटक वालेन डी’ओरको अवार्ड हात पारेका छन्।

नेयमार समकालिन क्लब फुटबलका सर्वाधिक महङ्गा फुटबलर हुन्। वालेन डी’ओर जित्ने लक्ष्यसहित उनी कीर्तिमानी २ सय २० मिलियन पाउण्डमा बार्सिलोना छाडेर पीएसजी गएका थिए। 

तर २८ बर्षका नेयमारले पछिल्ला तीन सिजन आफूमाथिको लगाईएको महङ्गो मुल्यलाई न्याय गर्न सकिरहेका छैनन्। उनले यस सिजन १९ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन्।

तर यसपटक पीएसजी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई पुर्याउन नेयमारले मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अन्तिम १६ को दोस्रो लेगमा गोल गर्नुका साथै क्वार्टरफाईनल र सेमिफाइनलमा एटलान्टा र आरबी आईपेजिगबिरुद्ध जित निकाल्न मुख्य भूमिका निर्वाह गरेका थिए।

पीएसजी फाईनल पुगेसँगै नेयमारका धेरै आलोचक शान्त छन्। आइतबारको खेलमा जित निकालेको खण्डमा उनले विश्व फुटबलको सर्वश्रेष्ठ व्यक्तिगत अवार्डमा दाबी प्रस्तुत गर्नेछन्।

‘च्याम्पियन्स लिग जित्नु पक्कैपनि विशेष हो। यो मलाई थाहा छ। तर पीएसजीमा रहेर जितेर इतिहास लेख्नु छ। र म यहाँ यही गर्न आएको हुँ,’ नेयमारले भने।

पीएसज उत्कृष्ट फर्ममा रहेको भन्दै उनले आफ्नाे टिम वार्यन म्युनिखकाे सामना गर्न तयार रहेकाे समेत बताए।

‘सेमिफाइनलमा निकै राम्रो प्रर्दशन रह्यो। तर सेमिफाइनल कसले जित्यो, त्यो कसैले याद गर्ने छैन्। समय सकिएको छ। बायर्न निकै राम्रो लयमा  छ। उनीहरुसँग धेरै राम्रा खेलाडी छन्। हामी तयार छौं,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-23 06:27:00

प्रतिकृया दिनुहोस्