सिल्भाले छाडे पीएसजी, एक वर्षका लागि चेल्सीले भित्र्याउने

ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सी जाने भएका छन्।

आइतबार च्याम्पियन्स लिग २०१९–२० को फाइनलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि सिल्भाले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि उनी चेल्सी जान लागेका हुन्।  

स्काई स्पोर्ट्सका अनुसार चेल्सीले सिल्भासँग एक वर्षको सम्झौता गर्ने भएको छ। 

सिल्भाको क्लबसँगको सम्झौता च्याम्पियन्स लिग सकिएसँगै सकिएको थियो। यसअघि नै क्ललबे उनले सिजनपछि सम्झौता नवीकरण नगर्ने बताइसकेको थियो।

सिल्भाले केही समय त्यहीँ खेल्न चाहेका थिए, तर पीएसजीले नै राख्न नचाहेको थिएन। जुन महिनामै एडिनसन कभानी र थोमस मुनिएरसँगै सिल्भाको सम्झौता पनि सकिएको थियो।

तर, सिल्भासँगै फरवार्ड एरि चुपो मटिङले च्याम्पियन्स लिगको नकआउट स्टेज खेल्नलाई २ महिनाको सम्झौता थप गरेका थिए।

च्याम्पियन्स लिग सकिएसँगै सिल्भा फ्रि ट्रान्सफरमा चेल्सी आउन लागेको स्काई स्पोर्ट्सले जनाएको छ। चेल्सीले उनलाई यस समरमा तेस्रो खेलाडीको रुपमा क्लब भित्र्याउन लागेको हो।

सन् २०१२ मा एसी मिलानबाट पेरिस पुगेका सिल्भाले त्यहाँ रहँदा धेरै उपाधि जितेर समर्थकको मन पनि जिते। ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जिते।

पहिलो पटक सिल्भाको कप्तानीमा यस वर्ष पीएसजी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। तर बायर्नसँग १-० ले पराजित हुँदै उपाधिबाट वञ्चित रह्यो।

‘पेरिसमा मेरो यो नै अन्तिम खेल हो’ सिल्भाले आरएमसी स्पोर्ट्ससँग भने, ‘फ्यानसँग म माफी माग्छु। सबै समर्थनकको मायाको लागि धन्यवाद।’

पीएसजीका लागि अन्तिम खेल खेलेपछि सिल्भाले आफु विश्वकपसम्म फुटबल खेल्ने र अन्य भूमिकामा क्लब फर्कने समेत बताए।

सिल्भाले भने, ‘म फर्कने छु। अर्को भूमिकामा किनकी मलाई यस क्लब मन पर्छ। म अझै ३/४ वर्ष खेल्न चाहन्छु र कतार विश्वकप खेल्न चाहन्छु।’

प्रकाशित मिति: : 2020-08-24 13:46:02

प्रतिकृया दिनुहोस्