अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पको दोस्रो कार्यकालको उम्मेदवारी घोषणा

संजोग आचार्य

न्युयोर्क

राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार घोषित भएका छन्। उनीसँगै माइक पेन्सलाई पनि उपराष्ट्रपति पदको उम्मेदवार घोषित गरियो। 

इन्डियानाका पूर्व गर्भनर पेन्स २०१६ को चुनावमा पनि उपराष्ट्रपतिको उम्मेदवार थिए। अब ट्रम्पले २७ अगस्टमा व्हाइट हाउसको साउथ लोनमा राष्ट्रपतिको उम्मेदवार स्विकार गरेको भाषण दिनुपर्ने छ। 

दोस्रो कार्यकालका लागि ट्रम्पलाई चुनौति दिने पार्टीमा अरु कुनै उम्मेदवार देखिएनन्। ट्रम्पविरूद्ध यसपालिको चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो वाइडेनले उम्मेदवार दिइसकेका छन्। वाइडेनलाई यसअघि नै डेमोक्र्याटिक पार्टीको नेशनल कन्भेन्सनले उम्मेदवार छनोट गरिसकेको छ। 

बाराक ओबामा राष्ट्रपति हुँदा वाइडेन उपराष्ट्रपति थिए। सन् २०१६ मा डेमोक्र्याटिक पार्टीले ट्रम्पको प्रतिस्पर्धीको रूपमा हिलारी क्लिन्टनलाई उठाएको थियो। उनी पराजित भएकी थिइन। 

डेमोक्र्याटिक पार्टीले यसपालि उपराष्ट्रपति पदमा अफ्रिकी–एसियाली मुलकी कमला ह्यारिसलाई उठाएको छ। कमलाको बुवा अफ्रिकी हुन भने आमा भारतीय। 

३ नोभेम्बरमा हुने चुनावमा ट्रम्पको प्रतिस्पर्धा जहाँ वाइडेनले गर्नुपर्ने छ, त्यही पेन्सविरूद्ध कमला लड्ने छिन्। अमेरिकामा प्रमुख पार्टीको नेशनल कन्भेन्सन चार–चार वर्षमा आयोजना हुने गरेको छ। 

यसपालिको कन्भेन्सनमा कोरोनाको प्रभाव देखियो। अमेरिकाको नर्थ क्यारोलिना राज्यको सेर्लोट शहरमा कन्भेन्सन भइरहेको छ। चार दिन आयोजना हुने यस कार्यक्रममा निकै कम मानिस उपस्थित छन्। 

रिपब्लिकन पार्टीबाट आएका ३ सय ३६ डेलिगेट्सले ट्रम्प र पेन्सको उम्मेदवारीलाई स्विकार गरे। पार्टी अध्यक्ष रोना मकडेनियलले कन्भेन्सनको उद्घाटन गर्ने क्रममा सोचे जस्तै कार्यक्रमलाई भब्य बनाउन असफल भएकोमा दुःख प्रकट गरिन्। 

दुबै पार्टीको नेशनल कन्भेन्सनबाट राष्ट्रपतिको उम्मेदवार घोषित भएपछि उनीहरूले अब ३ वटा डिबेटमा भाग लिनुपर्ने छ। पहिलो बहस २९ सेप्टेम्बरमा ओहियोमा हुँदैछ। यसपछि १५ र २२ अक्टुबरमा फ्लोरिडा र टेनेसीमा हुनेछ। 

यस्तै, उपराष्ट्रपतिको बहस ७ अक्टुबरमा उदाहको साल्ट लेक सिटीमा हुनेछ। बहस ९० मिनेटको हुनेगर्छ। त्यो स्थानीय समयअनुसार राती ९ बजेबाट सुरु भएर साढे १० बजे समाप्त हुन्छ। 

रिपब्लिकन पार्टीको नेशनल कन्भेन्सनको इतिहास धेरै लामो र पुरानो छ। यो १ सय ५४ वर्ष अगाडि नै सुरु भएको थियो। सन् १८५६ मा पहिलो पल्ट भएको नेशनल कन्भेन्सनमा जोन फ्रेमोन्ट राष्ट्रपतिको उम्मेदवार घोषित भएका थिए। राष्ट्रपतिको उम्मेदवार घोषित भएपछि जनतालाई पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2020-08-25 06:48:09

प्रतिकृया दिनुहोस्