नुवाकोटमा थप सात दिन निषेधाज्ञा

रासस

विदुर 

कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ। 

आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ आज १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम  निषेधाज्ञा जारी गरिएको हो। प्रजिअ ढकालले लिखु गाउँपालिका– ४, ५ र ६, तादी गाउँपालिका–३ र ५ , बेलकोटगढी नगरपालिका–५, ७, ८, १२ र १३ , ककनी गाउँपालिका–१, २, ४ र ६, शिवपुरी गाउँपालिका–६, ७ र ८ तथा तारकेश्वर गाउँपालिका–२, ४ र ५ का सबै  क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताए।

जिल्लाका अन्य भूभाग र विदुर नगरपालिकामा भने निषेधाज्ञा जारी नगरिए पनि  तोकिएअनुसारका नियम पालन गर्नुपर्ने जनाइएको छ। नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सार्वजनिक यातायात र निजी सवारी साधनमा रोक लगाइनाका साथै मानिसको भीडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने बताए। उनका अनुसार अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य वस्तु, फलफूल  तथा माछामासुका पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४देखि ७ बजेसम्म मात्र सञ्चालन गरिने छ।
  
जिल्लाका औषधि पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा २४ सै घण्टा  र कपडा तथा फेन्सी पसल बिहान ११ देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए।  

बैंक तथा वित्तीय संस्था र सहकारी संस्था भने बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ। उद्योग, कलकारखाना तथा विकासनिर्माणका काम स्थानीयस्तरमा उपलब्ध सीमित सङ्ख्यामा कामदार परिचालन गरी सञ्चालन गर्न सकिने छ।

बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ट, चियापसल, खाजापसल, मठमन्दिर, गुम्बा र खेलकूद, जिमखाना, ब्युटिपार्लर र शैलुनलगायत  सञ्चालन  गर्न नपाउने पनि निर्णय गरेको जिप्रकाले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-08-25 19:49:28

प्रतिकृया दिनुहोस्