‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमनको क्यान्सरका कारण निधन

अमेरिकी अभिनेता चाडविक बोसमनको ४३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ४ वर्षदेखि क्यान्सरबाट पीडित बोसमनको लस एन्जलसमा रहेको आफ्नै घरमा निधन भएको हाे।

बोसमनले सार्वजनिक रुपमा आफ्नो रोगबारे भने बताएका थिएनन् ।

लस एन्जलस स्थित घरमा उनको निधन भएको र निधनका बेला श्रीमती र परिवारका सदस्य उनको छेउमा रहेको जनाइएको छ।

चलचित्र ‘ब्ल्याक प्यान्थर’ मा निर्वाह गरेको भूमिकामा उनी लोकप्रिय बनेका थिए। 

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो। त्यस्तै ‘क्याप्टेन अमेरिका सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन्।

मार्शल, डा ५ ब्लड्स, ब्ल्याक बटमसहितका चलचित्रहरु क्यान्सरबाट मुक्त हुनका लागि गरिएका शल्यक्रिया तथा किमोथेरापीको क्रममा छायाँकन भएको परिवारले जानकारी गरेको वक्तव्यमा उल्लेख छ। उनी सच्चा योद्धा रहेको वक्तव्यमा उल्लेख छ।

साउथ क्यारोलाइनमा जन्मिएका बोसमन सन् २०१३ मा फिल्मी उद्योगमा प्रवेश गर्नुभन्दा पहिले टेलिभिजनमा स–साना भूमिकामा अभिनय गर्थे । सन् २०१३ मा बनेको चलचित्र ‘फोर्टी टु’ मा उनले बेसबल स्टार ज्याकी रोबिन्सनको भूमिका निभाएका छन् ।

तर सन् २०१८ को ‘ब्ल्याक प्यान्थर’ ले उनलाई चर्चा शिखरमा पुर्‍यायो। ओस्कारमा सर्वोत्कृष्ट चलचित्रका लागि मनोनयनमा पर्ने पहिलो सुपरहिरो चलचित्र थियो ‘ब्ल्याक प्यान्थर’  थियाे। अरु ६ बिधामा पनि सो चलचित्र मनोनयनमा परेको थियो।

मेजर लिग बेसबलले ‘ज्याकी रोबिन्सन डे’ मनाइरहेकै दिन अभिनेता बोसमनको निधन भएको छ ।

 

 

प्रकाशित मिति: : 2020-08-29 09:19:50

प्रतिकृया दिनुहोस्