आफ्नै ठाउँमा पिसीआर परीक्षण हुन थालेपछि उत्साहित

सांकेतिक तस्बिर


आफ्नै नगरमा पिसीआर परीक्षण हुन थालेपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि आपत्कालमा पनि बर्दिवासवासीमा उत्साह छाएको हो ।

'अब स्वाब सङ्कलनपछि नतिजा (रिपोर्ट) पाउन लामो समय कुर्नु परेन”, बर्दिवास नगरपालिकाले शुक्रबार बर्दिवास अस्पतालमै स्वाब सङ्कलन र परीक्षण थालेपछि बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता मकरलाल विश्वकर्माले भने, 'महाव्याधीको आपत्कालीन समयमा हाम्रा लागि यो निकै राहतको कुरा भयो ।'

सेवा शुरु भएको पहिलो दिन नै १० जनाले स्वाब दिएका छन् । पहिलोपटक हुनाले आफ्नो प्रयोगशालाको परीक्षण नतिजा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पुष्ट्याइँ गरेपछि आइतबार सम्बन्धित व्यक्तिलाई दिइने नगर स्वास्थ्य शाखाले जनाएको छ । सोमबारदेखि भने दिनदिनै परीक्षण नतिजा आफ्नै प्रयोगशालाबाट पुष्टि गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेन्द्रकुमार चौधरीले जानकारी दिए । 

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा शुक्रबार नगरपालिकाको आफ्नै पहलकदमीमा पिसीआर परीक्षण शुरु गरिएको हो । कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यसाथ नगरपालिकाले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी स्थानीयस्तरमै पिसीआर परीक्षण शुरु गरिएको जनाएको छ । अस्पतालमा यो सेवा क्रमशः जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितसँग सङ्सर्ग (कन्ट्याक्ट ट्रेसिङ) जोडिएकामा पहिलो चरणमा गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । परीक्षणको दायरा बढाउँदै अबको दुई महिनाभित्र नगर क्षेत्रका प्रत्येक घरबाट कमसेकम एक जनाको पिसीआर गरी सकिने लक्ष्यसाथ काम थालिएको नगरप्रमुख कार्कीको भनाइ छ । 

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेशिन, आवश्यक उपकरण अस्पतालमा जडान गराएको हो । यसको सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन पनि नगरपालिकाले नै गरेको छ । सेवालाई विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण व्यवस्था विस्तार गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय गरिने नगरप्रमुख कार्कीले बताए ।
     
'ठ्याक्कै त भन्न हिसाब हेर्नुपर्ला, तर रु एक करोड २५ लाखभित्र सबै उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन भएको छ', नगरप्रमुख कार्कीले भने, 'हामीले चाहेको सेवा प्रवाह गर्न सक्यौँ भने यति धेरै रकम खर्चिएको भन्ने पश्चाताप हुनेछैन ।' सेवा प्रारम्भसँगै अब स्वाब दिइएको भोलिपल्ट नै नतिजा पाउने व्यवस्था भएपछि यसअघि १०/१२ दिनसम्म रिपोर्टमा भोग्दै आइएको अन्योलता हट्ने नगरवासीले विश्वास लिएका छन् । 'यो सङ्क्रमण बढ्न नदिन खास उपलब्धिमूलक हुनेछ', सेवा प्रारम्भमा पहिलो स्वाब दिनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दीपबहादुर योञ्जनले भने, 'नगरपालिकाले प्रारम्भ गरेको अहिलेसम्मकै यो सबैभन्दा महत्वपूर्ण जनपक्षीय काम हो ।' 

योञ्जनसँगसँगै स्वाब दिनुभएका नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले पनि बर्दिवासवासीका लागि यो खास उपलब्धि भएको प्रतिक्रिया दिए । करिब रु एक लाख २० हजार जनसङ्या रहेको आफ्नो नगर क्षेत्रमा स्वास्थ्य सेवामा आम मानिसको पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण कडी ठानेको नगरप्रमुख कार्कीको भनाइ छ । बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेशिन र उपलब्ध उपकरणबाट दैनिक ९०० सम्म परीक्षण हुनसक्ने विज्ञको भनाइ छ । सेवा प्रारम्भ गर्न बर्दिवास अस्पतालमा ल्याएका अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँका मेडिकल माइक्रो बाइलोजिष्ट डा अनिलकुमार साहले प्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर जाँच गर्ने क्षमताको मेशिनलाई पालो मिलाएर जनशक्ति विन्यास गर्नसके दैनिक ९०० को जाँच हुने स्पष्ट पारे ।
 
प्रदेश नं २ मा स्थानीय तहको पहलकदमीमा पिसीआर परीक्षण गर्ने बर्दिवास अस्पताल पहिलो बनेको छ । 'खै स्थानीय तहकै तत्परतामा प्रदेशभित्र अन्य कतै यो काम भएको जानकारी मलाई छैन', प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने । सो नगरपालिकाको अनुशरण अन्य स्थानीय तहले गरे परीक्षणको दायरा फराकिलो भएर सङ्क्रमण नियन्त्रणमा सघाउ पुग्ने झाको विश्वास छ । 'स्वाब सङ्कलनपछि तत्काल परीक्षण नतिजा चाँडै आउन सक्दा सङ्क्रमित भेटिएकालाई बाहिरी सङ्सर्ग छुटाएर आइसोलेसनमा पु¥याइन्छ', झाले भने, 'यसले सम्बन्धित व्यक्तिको धेरै जनासँग उठबस हुने स्थिति रोकेर सङ्क्रमण बढ्न नदिन सघाउ पु¥याउँछ ।' 

प्रदेशमा जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पिसीआर परीक्षण सेवा सञ्चालन रहँदै आएका छन् । नगरपालिकाले यो सेवा प्रारम्भ गरेपछि अन्य प्रयोगशालामा चाप घटेर काम सहज बनाउन सहयोग पुग्ने झाको विश्वास छ ।
 
नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीनतले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोभिड–१९ रोकथाम अभियानसँग सम्बन्धित ५० श्ययाको आइसोलेसनकक्षसमेत तयार छ । बर्दिवास अस्पतालको नवनिर्मित भवनमै पिसीआर परीक्षण सेवा सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता हुने चिकित्सकको भनाइ छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्की बताउछन् ।
 

प्रकाशित मिति: : 2020-08-29 17:22:06

प्रतिकृया दिनुहोस्