छोरी इवान्कामा पहिलो महिला राष्ट्रपति बन्ने खुबी: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छोरीलाई लिएर हालै एउटा नयाँ बयान दिएका छन्। 

उनले न्यु ह्यामसायरका समर्थकलाई सम्बोधन गर्ने क्रममा आफ्नो छोरी इवान्कामा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने खुबी रहेको दावी गरेका छन्। 

उनले डेमोक्र्याटिक पार्टीबाट उम्मेदबार बनेकी अफ्रिकीमूलकी कमला ह्यारिसतर्फ कटाक्ष गर्दै भने, ‘उनी त राष्ट्रपति बन्ने दौडमा थिइन्। अहिले उपराष्ट्रपतिका लागि संघर्ष गरिरहेकी छिन्। मलाई लाग्छ, मेरो छोरी इवान्का यो पदका लागि उनीभन्दा योग्य उम्मेदबार हुन्। म यो पनि चाहन्छु, इवान्का अमेरिकाको पहिलो महिला राष्ट्रपति बनुन्।’

इवान्का अमेरिकी राष्ट्रपति ट्रम्पको सल्लाहाकार पनि हुन्। ट्रम्पले भने, ‘डेमोक्र्याटिक पार्टी अमेरिकी जनतालाई मात्र सपना देखाउन सक्छ। पुरा कहिल्यै हुँदैन।’

उनले डेमोक्र्याटिक पार्टी र राष्ट्रपति जो वाइडेनमाथि गम्भीर आरोप लगाए। उनले कमलालाई उठाएर डेमोक्र्याटिक पार्टीले जातीयवादको एजेन्डा चलाउन खोजेको आरोप लगाए। कमलामार्फत एसियाली र अफ्रिकी अमेरिकी मानिसबीच मतभेद सिर्जना गर्न खोजिएको उनको भनाई थियो। 

डेमोक्र्याटिक पार्टीले कमलालाई उपराष्ट्रपति पदको उम्मेदबार घोषणा गरेपछि ट्रम्प निकै आक्रामक देखिएका छन्। कमला ह्यारिस अफ्रिकी बाबु र भारतीय आमाबाट जन्मिएको हुँदा अमेरिकामा बसोबास गर्ने अफ्रिकी तथा भारतीयमुलका मतदातामा उनको पकड राम्रो भएको दावी गरिएको छ। 

ट्रम्पले ह्याम्पसायरको जुलुसमा आफूले पुनः दोस्रो कार्यकालको चुनाव पनि जित्ने दावी गरे। ‘म विश्वास दिलाउन चाहन्छु, हामीले यो चुनाव पनि जित्ने छौं र अमेरिकालाई पहिले भन्दा झन् बढी सुरक्षित तथा बलियो बनाउने छौं।’

उनले आफ्नो नीति धेरैले नबुझेको बताए। उनले भने, ‘अरुलाई खुसी बनाउन अमेरिका आफ्नो हितलाई तिलाञ्जली दिँदैन। हामीले देशलाई बलियोसँग अगाडि लगेका छौं। भविष्यमा पनि लैजाने छौं। हामी कसैसँग झुक्ने छैनौं।’

प्रकाशित मिति: : 2020-08-30 07:01:57

प्रतिकृया दिनुहोस्