के मानिसको दिमागमा भएको पुरानो सम्झना र महत्वपूर्ण जानकारी ‘स्टोर’ गर्न सकिन्छ?

‘स्पेस एक्स’ का संस्थापक तथा टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले अर्को नयाँ खोजलाई प्रस्तुत गरेका छन्। मानिसलाई मंगल ग्रह लैजाने अभियानको नेतृत्वकर्ता मस्कले मानिसको दिमाग पढ्न सक्ने चिपको आविस्कार गरेका छन्। 

उनले आविस्कार गरेको यो चिपलाई हालै गेरड्रड नामको सुगुरमाथि प्रयोग गरिएको छ। सानो पैसाको आकारमा रहेको यो चिपको सहयोगले सुगुरको दिमागमा के चलिरहेको छ, त्यो हेर्न सजिलो भएको थियो। 

सुगुरको दिमागमा फिट गरिएको चिपका कारण कम्प्युटर स्क्रिनमा सबै कुरा देखिएको थियो। मस्कले यो सबै प्रयोगलाई ‘लाइभ स्ट्रिम’ मार्फत प्रदर्शन गरेका थिए। सुगुरको दिमागमा चिप जडान गरेपछि उसले पहिले टाउको हल्लाएको थियो र खाना चपाउन थालेको थियो। यतिबेला उसको दिमाग हल्लिरहेको तथ्य कम्प्युटर स्क्रिनमा देखिएको थियो। 

मस्क यो प्रोजेक्टमा एक वर्षदेखि काम गरिरहेका थिए। उनको स्टार्टअप न्युरोलिंक कम्पनीले एक वर्षअघि मुसामा पनि चिपको परीक्षण गरेको थियो। यतिबेला फोटो मात्र प्रकासित भएको थियो। कम्प्युटर स्क्रिनमा यसलाई देखाइएको थिएन। 

बादरमा पनि यसको प्रयोग भइसकेको छ। अब मानिसमा परीक्षण गर्ने योजना रहेको मस्कले बताएका छन्। उनले हालै दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यो डिभाइसको प्रयोग स्मरणशक्ति बढाउन, ब्रेन स्ट्रोक वा टाउको सम्बन्धि अन्य रोगको उपचारमा हुनेछ। यसबाहेक पक्षघात जस्ता रोगीका लागि पनि सहयोगी सावित हुनेछ।

 हामीले रोगीको गिदीको अध्ययन गरेर डेटा संकलन गर्न सक्छौं। यसले स्पाइनल कर्ड (रीढको हड्डी तल दिमागको सन्देश पढाउने नसा) मा चोट लागेपछि शरीरको तलको अंग हल्लाउन नसक्ने विरामीका लागि फाइदाजनक हुन सक्छ।’

सुगुरमा प्रयोग गरिएको चिप निकै मसिनो छ। यसमा एक हजार वटा तार जोडिएको छ। जडान गरिएको तारको चौडाईं मानिसको दसवटा कपाल बराबर पातलो छ। चिपलाई बनाउन दुई वर्ष लागेको कम्पनीले बताएको छ। 

डिभाइसलाई रोबोटमार्फत दिमागमा हाल्ने काम गरिन्छ। चिकित्सकहरूले रोबोटको सहयोगले मानिसको टाउकोमा पहिले २ मिलिमिटर प्वाल पार्छन। यहीबाट दिमागमा जडान गर्ने काम गरिन्छ। 

तार वा थ्रेड्सको इलेक्ट्रोड्स न्युरल स्पाइक्सलाई मनिटर गर्न सकिन्छ। यो इलेक्ट्रोड्सले मानिसको पुरै दिमागको पहिचान मात्र गर्दैन, यसले मानिसले गर्ने व्यवहारमा आउने परिवर्तनको पनि अध्ययन गर्छ।

न्युरोलिंक टेक्नोलजीले मानिसको दिमागमा चिप वा तारको सहयोगले काम गर्छ। यसलाई कपालको तलपट्टी फिट गर्ने काम हुन्छ। यो वायरलेस प्रविधिलाई अर्को डिभाइससँग जोडिन्छ र मानिसको दिमागभित्र भएको जानकारी कम्प्युटरमा सार्ने काम गरिन्छ। 

कम्पनीको दावी अनुसार भविष्यमा मानिसको दिमागमा रहेको महत्वपूर्ण जानकारी तथा पुरानो सम्झना पनि चिपमा स्टोर गर्न सकिन्छ। अमेरिकी मिडियाका अनुसार एलन मस्कले न्युरोलिंक स्टार्टअपमा एक सय मिलियन डलर लगानी गरेका छन्। यसको प्रमुख कार्यालय सन फान्सिस्कोमा छ।

प्रकाशित मिति: : 2020-09-01 07:49:27

प्रतिकृया दिनुहोस्